बिर्तामोड।
बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि १९ बुँदे घोषणा पत्र जारी गरिएको छ ।
गौरीशंकर मावि डाँगीवारीमा आयोजित कार्यक्रमकाबीच शैक्षिक गुणस्तर सुधारका लागि घोषणापत्र जारी गरिएको शिक्षक लोचन गुरागाँईले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्य र गौरीशंकर माविका अध्यक्ष महेशकुमार झाको सभापतित्वमा भएको कार्यक्रममा १६ वटा विद्यालयका प्रधानाध्यापक र अध्यक्षको सहभागिता रहेको श्रोतव्यक्ति छवि बस्नेतले जानकारी दिए ।
गुणस्तर सुधारका लागि विषयगत शिक्षकको व्यवस्था गरी शिक्षण गर्ने, शैक्षिक सामग्रीको प्रयोग गरी शिक्षण गर्न उत्प्रेरित गर्ने, शिक्षकलाई समय समयमा नमूना विद्यालयको भ्रमण गराई असल अभ्यासलाई विद्यालयमा लागू गराउने, बाल कक्षादेखि नै अंग्रेजी माध्यममा पठनपाठन गराउने, शिक्षक तथा विद्यार्थीको आचारसंहिता अनिवार्य लागू गराउने, वार्षिक कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी एवम् अभिभावकलाई पुरस्कृत गर्ने लगायत छन् ।
कार्यक्रममा बोल्दै वाह्रदशी गाउँपालिकाका अध्यक्ष राजवंशीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले आर्थिक व्यवस्थापन सहित भौतिक र पाठ्य सामग्रीको व्यवस्थापनमा कुनै कमी कमजोरी हुन नदिने बताए ।
स्रोतव्यक्ति बस्नेतले राजगढलाई जिल्लाकै नमूना स्रोतकेन्द्र बनाउन आफू लागीपरेको र शैक्षिक गुणस्तर सुधारको झलक यसै वर्षभित्र दिने बताएका छन् । अभिभावकको मन जित्दै विद्यार्थीलाई कितावी ज्ञानसहित व्यवहारिक ज्ञान दिलाएर लगनशील र अध्ययनशील विद्यार्थी उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक र प्रधानाध्यापकले सुझाव समेत दिएका थिए । कार्यक्रममा गौरीशंकर माविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले स्वागत गरेका थिए ।