चितवन,
नेपालमा वन्यजन्तुको स्वास्थ्यसम्बन्धी विज्ञ नभइरहेका समयमा वन्यजन्तुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको छ । बाघ, एशियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी आजदेखि सौराहामा आयोजित चारदिने क्षेत्रीय कार्यशाला गोष्ठीका वक्ताले वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा ठूलो विनाश ल्याउने बताए ।
कार्यशालामा वन्यजन्तुको स्वास्थ्य र जीव विज्ञानसम्बन्धी ३३ कार्यपत्र र आठ पोष्टर प्रस्तुत हुने पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्रा डा शारदा थपलियाले जानकारी दिनुभयो । नेपालमा यसअघि वन्यजन्तुको संरक्षण, वासस्थान, व्यवस्थापन र वन्यजन्तु–मानवबीच द्वन्द्वसम्बन्धी विषयलाई मात्र प्राथमिकता दिइँदै आएको बताउँदै प्रा डा थपलियाले पछिल्ला वर्षमा वन्यजन्तु स्वास्थ्यसम्बन्धी विषयको महत्व महसुस भएको बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक प्रा डा हिमाल लुइँटेलले वन्यजन्तुका ६० प्रतिशत रोग मानिसमा र ७० प्रतिशत घरपालुवा जनावरमा सर्ने बताउँँदै मानव, वन्यजन्तु र घरपालुवा जनावरको स्वास्थ्यलाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताउनुभयो । “नेपालमा अहिले बिरामी वा घाइते भइसकेपछि मात्रै वन्यजन्तुको उपचार गर्ने परिपाटी भए पनि त्यो पूर्ण छैन”, लुइँटेलले भन्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा कमल गैरेले बाघ, गैंडा, हात्तीजस्ता वन्यजन्तुको स्वास्थ्य र तिनमा लाग्ने रोगका बारेमा विभिन्न देशका विज्ञको अनुभव आदानप्रदानले वन्यजन्तुको स्वास्थ्यका क्षेत्रमा केही सुधार गर्न सकिने बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मस्त्य विज्ञान संकाय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना भएको कार्यशालामा नेपालसहित चीन, भारत, भियतनाम, इण्डोनेसिया, मंगोलिया, म्यानमा, पाकिस्तान, थाइल्याण्ड, रुस, बेलायत, अमेरिका र अष्ट्रेलियाका ८७ पशु चिकित्सक एवं विज्ञको सहभागिता छ । चार दिनसम्म चल्ने कार्यशालाका अवसरमा भ्रमण र प्रयोगात्मक काम पनि गरिनेछ ।