Aamsanchar

मिर्गौलापीडितलाई रु एक लाख सहयोग

Author Image
शुक्रवार, फागुन १८, २०७४

काठमाडौँ, 

जेठी श्रीमतीबाट परित्यक्त धादिङका मिर्गौला रोगी कृष्णबहादुर शाहीले उपचारका लागि सहयोग माग गर्नुभएको छ ।

शाहीको दुःखको कुरा सुनेपछि रिपोर्टर्स क्लबमा अर्को कार्यक्रमका लागि आउनुभएका बौद्धधर्म गुरु स्याल्पो तेञ्जिङ रिम्पोछेले रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँलाई हाल दिलमाया मगरले साथ दिनुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय शाही दुबईमा केही कमाइ गरेर स्वदेश फर्किएलगत्तै मिर्गाैला रोगको शिकार हुनुभएको थियो ।

दश वर्षको बाल्यकालमा आमा गुमाउनुभएका शाहीका पिता पाँच वर्षदेखि मानसिक रोगबाट पीडित हुनुहुन्छ । मिर्गौला रोगबाट पीडित भएपछि जेठी श्रीमतीले आफूले कमाएर ल्याएको रु पाँच लाख पनि लिएर भागिदिएको वेदना शाहीले सुनाउनुभयो । शाहीलाई मिर्गौला रोग लागेको थाहा हुँदाहुँदै विवाह बन्धनमा बाँधिएकी दिलमायाले पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले उहाँ मिर्गौला रोगी भएको थाहा हुँदाहुँदै विवाह गरेकी हुँ । उहाँलाई बचाउन मेरो मिर्गौला दिन चाहन्छु तर उहाँको उपचारका लागि हामीसँग पैसा छैन ।”

शाहीको परिवारमा परेको पीडा सुनिबस्नुभएका शनिबार आयोजना हुने बुद्ध बर्न इन लुम्बिनी कार्यक्रमका बौद्धधर्म गुरु स्याल्पो तेञ्जिङ रिम्पोछे भन्नुभयो, “शाहीको उपचारका लागि रु एक लाख सहयोग गर्छु ।” कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारी अस्पतालमा डायलाइसिस सेवा निःशुल्क गर्न तथा मिर्गौला प्रत्यारोपणका लागि पहल गरिने आश्वासन दिनुभयो ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर