चितवन,
सीपको आदानप्रदान गर्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय रासायनिक वैज्ञानिक सम्मेलन शनिबार साँझ सातबुँदे सौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको संयुक्त आयोजनामा भएको तीनदिने सम्मेलनले नेपालका वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्तासँग समन्वय गरी वैदेशिक तवरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा विज्ञानको अनुसन्धान तथा प्रवद्र्धनमा राष्ट्रहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । त्यसैगरी विकसित राष्ट्रमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विकासोन्मुख देशका वैज्ञानिकलाई सहभागी हुन अन्तर्राष्ट्रिय संस्थाबाट सहयोगको माग गर्ने जनाइएको छ । अर्काे सम्मेलन सन् २०१९ मा काठमाडौँमा गरिने बताइएको छ । अनुसन्धान सँगसँगै पर्यटन क्षेत्रलाई पनि विकास गर्दै वातावरणमैत्री जीवनका लागि अनुसन्धानको भूमिका अपरिहार्य गराउने घोषणापत्रमा उल्लेख छ ।
सन् २०१८ नोभेम्बरमा एशियन पोलिमर एशोसिएसनसँग मिलेर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र एशियन केमिकल सोसाइटी महासंघद्वारा नेपालमा एशियन केमिकल सम्मेलन गर्ने पनि जनाइएको छ ।
नेपाल केमिकल सोसाइटीका सदस्य प्रा डा अमरप्रसाद यादवले सम्मेलनमा रसायन र वातावरण, रसायन र जीव विज्ञानको भूमिका, वैकल्पिक ऊर्जा, जडीबुटीबाट औषधि उत्पादनलगायत विषयमा १३ देशका ८० र नेपालका १०० वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेको बताउनुभयो । नेपाल केमिकल सोसाइटीका सदस्य मनोज विष्टले चितवनमा भएको सम्मेलन आउँदा दिनका लागि अनुसन्धानका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास सहभागीले व्यक्त गरेको बताउनुभयो ।
विदेशबाट १०० जनाभन्दा बढी वैज्ञानिकको कार्यक्रममा सहभागिता थियो । सहभागी विदेशी वैज्ञानिकलाई चितवन, लुम्बिनी, पोखरा र काठमाडौँका पर्यटकीयस्थलको भ्रमण गराइएको थियो ।