Aamsanchar

काँकरभिट्टा नाकाबाट विषादि जाँच

Author Image
बुधवार, चैत ७, २०७४

काँकरभिट्टा।

पूर्वी नाका काँकरभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादि जाँच गर्न शुरु गरिएको छ ।

मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादि अवशेषबिरुद्ध विश्लेषण एकाइले आयातित चार किसिमका सब्जीको विषादि जाँच गर्न शुरु गरेको हो ।

संयुक्त टोलीले काँकरभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।

टोलीले सब्जीको नमूना संकलन गरी जाँचका लागि बिर्तामोडस्थित प्रयोगशाला पठाएको थियो । विषादिको मात्रा जाँच्ने प्रयोगशाला बिर्तामोडमा मात्र रहेको छ । कृषि विभागको बाली संरक्षक निर्देशनालयले बिर्तामोडको कृषि थोकमा प्रयोगशाला स्थापना गरेको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालयका क्षेत्रीय प्रमुख सुकदेव मैनालीले आइतबार लिइएको सब्जीको नमूनामा विषादिको मात्रा मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने लेभलभन्दा न्यून पाइएको जानकारी दिए । जाँच गरिएको करेलामा अर्गेनोफोस्फेट ०.००२२ प्रतिशत र कार्वामेट १.२६७० प्रतिशत पाइएको छ ।

यसैगरी, ब्रोकाउलीमा अर्गेनोफोस्फेट १२.७२८ र कार्वामेट २.५१८३ पाइएको छ । काक्रामा अर्गेनोफोस्फेट ८.४७८८ र कार्वामेट २.३२८५ तथा खुर्सानीमा अर्गेनोफोस्फेट ०.३०४३ र कार्वामेट ३.२३८७ प्रतिशत पाइएको छ । विषादि जाँचले भारतबाट आयातित हुने ब्रोकाउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादिको मात्रा फेला परेको बताइएको छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर