Aamsanchar

बिर्तामोडमा क्यासिनोसहित होटल द्वारिका इन

Author Image
शुक्रवार, चैत ९, २०७४

बिर्तामोड।

चलचित्र निर्माता तथा युवा उद्योगी प्रदिप मित्तलले बिर्तामोडमा चारतारे होटल सञ्चालनमा ल्याउने भएका छन् । मित्तलले बिर्तामोड–७ स्थित हर्कलाल मार्गमा ‘होटल द्वारिका इन प्रालि’ को निर्माण धमाधम गरिरहेका छन् । आठ महिना अघि निर्माण शुरु भएको होटल अब एक वर्षभित्रमा सञ्चालनमा आउने मित्तलले बताए ।

आधुनिक सुविधासम्पन्न र चारतारे होटलको पूर्ण मापदण्डमा रहने उक्त होटलको लागत जग्गासहित ९० करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । अढाई बिगाह क्षेत्रफलमा रहने होटलको अहिले छ तले दुईवटा बिल्डिङको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ भने थप एक बिल्डिङको काम शुरु भएको मित्तलले बताए ।

क्यासिनो र लिफ्टसहित ८० बेड क्षमता, एक हजार जना आट्ने पार्टी तथा सम्मेलन हल रहने बताइएको छ । होटलमा तीनवटा छुट्टाछुट्टै सम्मेलन हल रहने बताइएको छ । एक सय ५० बढी दक्ष कर्मचारीले रोजगार पाउने होटलमा पार्किङको समेत पर्याप्त व्यवस्था मिलाइने बताइएको छ । मित्तलका अनुसार दुई सय ५० वटा चारचक्के गाडी र चारसय वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

त्यस्तै स्वीमिङ पुल, टेनिस खेलस्थल, जिम हाउस, स्टिम बाथ लगायतका सुविधा होटलमा रहने जनाइएको छ । होटल द्वारिका इन क्यासिनोसहितको बिर्तामोडको पहिलो होटल हुनेछ । ‘काठमाडौं र शिलगढीमा यहाँका धेरैले बिहे र पार्टी तथा सम्मेलन गर्छन्’– मित्तलले भने– ‘यहाँको आवश्यकतालाई मध्यनजर गरी होटल द्वारिका इन सञ्चालनमा ल्याउन लागेका हौं ।’

होटलको समाचार रिर्पोटिङका क्रममा मित्तलसँगै भेटिएका उनका मित्र निर्माण व्यवसायी केदार गिरी उच्च गुणस्तर र प्रविधि प्रयोग गरी होटल द्वारिका निर्माण भइरहेको बताउँछन् । बिर्तामोडको आवश्यकता परिपूर्तिका साथै होटल द्वारिका एउटा गहनाको रुपमा रहने गिरीको भनाइ छ ।

मित्तल ‘लोग्नेमान्छे’ चलचित्रका निर्माता हुन् । उनको जीवनयात्रा समेटिएको पुस्तक ‘प्रदिप मित्तल एक निरन्तर यात्रा’ अग्रज कलाकार लय संग्रौलाले खेलेर प्रकाशन समेत गरेका छन् । मित्तल होटल व्यवसायीको रुपमा यसअघि नै परिचित युवा हुन् । उनीसहित चारजनाको लगानीमा काँकरभिट्टामा मिनी क्यासिनोसहित न्यूढाका होटल सञ्चालनमा रहेको छ । त्यस्तै उनी भेनियर उद्योग, इँटा उद्योग, चिया उद्योग, सिमेन्ट उद्योगका सञ्चालक समेत हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर