Aamsanchar

उर्लाबारीको सनम शाक्य हत्या काण्डको अर्को ठूलो रहस्य खुलासा !

Author Image
बुधवार, चैत २१, २०७४

काठमाण्डौं ।

रहस्यको गर्भमै रहेको सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीको बयान लिएको छ । गृह उच्च स्रोतका अनुसार कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेपछि महाशाखाका प्रहरी अधिकारीमाथि छानबिनको लागि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार एसएसपी लोहनीको बयान लिएको हो । लोहनीसँगै अपरेशनको नेतृत्व गर्ने डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको पनि बयान लिइएको खुल्न आएको छ ।

तस्करीको ३३ किलो सुनसम्बन्धी विवादमा गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसँग प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले अवकाशको मुखमा रहेका डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा एसएसपी बसन्त लामा, डीएसपी सुदीपराज पाठक र इन्स्पेक्टर भीष्म हुमागाईं सदस्य छन् ।

समितिले गत हप्ता विराटनगर र धरानस्थित घटनास्थल पुगेर निरीक्षण तथा सम्बन्धितहरुसँग बयान तथा मुचुल्का लगायतका काम गरिसकेको छ । सबै काम सकेर गत बुधबार काठमाडौ फर्केको छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई वस्तुस्थितिको बारेमा ब्रिफिङ गरेपश्चात् गृहले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गरेर छानबिनको प्रक्रिया अगाडि बढाएको थियो । ‘प्रहरी मुख्यालयले गठन गरेको समितिले पनि अहिले गृहबाट गठित समितिसँग मिलेरै छानबिनको प्रक्रिया अगाडि बढाएको छ,’ गृहका एक उच्च अधिकारीले भने ।

‘फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन् नसक्नु र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहँदारहँदै भागेको भनिनुलाई शंकास्पद तरिकाले हेरिएको छ,’ गृहस्रोत भन्छ ।

प्रहरीले उक्त घटनामा बारदातस्थल नै परिवर्तन गर्ने प्रयास गरेको भेटिएको छ । धरानमा बरामद गरेको शवलाई जिल्ला कटाएर विराटनगरमा बरामदी मुचुल्का गरिनु अत्यन्तै शंकास्पद मानिएको छानबिनमा खटिएका अधिकारीहरुको दाबी छ । कानुनतः बारदात स्थल परिवर्तन गर्न र मृतकको शव बरामद भएको स्थलबाट यताउता सार्न पाइँदैन ।

प्रारम्भिक छानबिनको क्रममा एसएसपी लोहनी, अपरेशनमा खटिएका डीएसपी केसी र सइ सञ्जेललाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । ‘सम्भवतः  मंगलबार नै उनीहरुलाई कार्यक्षेत्रबाट फिर्ता बोलाइन्छ । गृहमन्त्रीज्यूबाट कडा एक्सन लिनु भन्ने आदेश आएको छ,’ स्रोतले भन्यो ।शुसानबाट

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर