Aamsanchar

भगवान बनाउने मान्छे…

Author Image
आइतवार, साउन १३, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी,बिर्तामोड ।

हामीले सुनेका छौं ‘भगवानले हामीलाई बनाएका हुन्’ । झट्ट हेर्दा कोही मानिस अति सुन्दर देखिए हामी सहजै भन्छौं पनि ‘यसलाई त भगवानले फुर्सदमै बनाएछन् क्यारे !’

भगवानलाई हामी कसैले देखेका छैनौं । तर, पनि भगवानको लीला अपरम्पार छ– भनिन्छ । वैदिक सनातन हिन्दू धर्ममा भगवान भन्नाले यस चराचर जगतको सृष्टि, स्थिति र संहारकर्ता परब्रम्ह परमात्मालाई बुझाउँछ । त्यही भगवानप्रति हामीमा आस्था छ, अनि विश्वास पनि छ । हामीले आस्था विश्वास गरेका भगवानको रुप भने मूर्तिमा कुँदिएको हुन्छ । त्यही रुपलाई हामीले भगवान सम्झिएर पूजा गरिरहेका छौं । ती मूर्तिमा मान्छेको लगानी र कला हुन्छ । आस्थाको प्रतिक मानिएका भगवान बनाउने मानिस कस्ता हुन्छन्– जिज्ञासा लाग्नु स्वभाविक हो ।

अर्जुनधारा–६ बंैशावारीका ७५ वर्षीय वृद्ध घुस्रालाल राजवंशीले भगवान बनाएको ४० वर्ष भयो । उनले निरन्तर भगवानका मूर्ति बनाएर बिक्री गर्दै आफ्नो गर्जाे टार्दै आएका छन् । दुई वर्ष लगाएर भारतको शिलगढीमा भगवानको मूर्ति बनाउन सिकेका राजवंशी अहिले घर खर्च चलाउनकै लागि उमेरले नेटो काट्दा समेत भगवानका मूर्ति बनाइरहेका छन् । उनी बिर्तामोड–१स्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटल दक्षिण टहरामा बसेर दिनभर मूर्ति बनाउँछन् ।

विभिन्न देवीदेवताका मूर्ति बनाउन सिपालु उनी वर्षमा हजार भन्दाबढी मूर्ति बनाएर बिक्री गर्छन् । मूर्ति बेचविखन गरेरै आफ्नो घर चलेको उनले बताए । उनले भने– ‘म ३५ वर्षको हुँदादेखि यो पेशामा आवद्ध छु, मैले अहिलेसम्म हजारौ मूर्ति बनाइसकँे ।’आफूले बनाएको मूर्ति प्रतिगोटा ४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । वर्षमा एक हजार मूर्ति बिक्छन्– उनले भने– ‘सिजन अनुसार बाह्रै महिना मूर्तिको काम हुन्छ ।’

कपाल सेतै फुलेका राजवंशी तस्वीर हेरेर दुरुस्तै भगवानको मूर्ति बनाउने गरेका छन् । पराल, बाँसको भाटा, पाटाको डोरी र माटोको प्रयोग गरेर उनले विभिन्न देवीदेवताको प्रतिमा तयार गर्ने गरेका छन् । शरीरलाई आराम चाहिने यो उमेरमा पनि राजवंशी युवाझैं फूर्तिका साथ भगवानका प्रतिमूर्ति बनाउन तल्लीन थिए– शनिवार । पूर्वाञ्चलकर्मी उनको मूर्ति बनाउने टहरामा पुग्दा आफ्ना अनुभवलाई शव्दमा उतार्दै उनले भने– ‘मैले दुई वर्षसम्म सिप सिकेँ र आफूले बनाएको पहिलो मूर्ति तीन सय रुपैयाँमा विक्री गरेँ । हातमा सिप भए गरेर खान अप्ठ्यारो नपर्ने रहेछ ।’

हलो जोत्दा–जोत्दै भागेर शिलगढी पुगेकोे अनुभव सुनाउदै राजवंशीले भने– ‘धेरै मेहनत गरेर भगवानको मूर्ति बनाउन सिकेको हुँ । अहिले यही पेशाले बाँच्ने आधार तयार भएको छ ।’ दुई छोरी र एक छोरा रहेका राजवंशी आफ्नो पेशाप्रति सन्तुष्ट छन् । भगवान मात्र होइन, राजवंशी गुडिया बनाउन पनि सिपालु छन् । वृद्ध अवस्थामा समेत आँखाको तेज घटेको छैन–उनको । चाडपर्व नजिकिएसँगै उनी हाल दुर्गा, काली, विश्वकर्मा, लक्ष्मी लगायतका भगवानका मूर्ति बनाउन व्यस्त छन् ।

भगवान बनाएर छोरा इञ्जिनियर पढाउदै

झापाको हल्दिबारी–९का ४१ वर्षीय मंगलु राजवंशीले भगवान बनाएरै छोरालाई इञ्जिनियर पढाइरहेका छन् । आफू १५ दिन मात्र विद्यालय गएको विगत सम्झँदै उनले भने– पढेको भए सुख पाइन्थ्यो होला । छोरालाई पढाएर ठूलो मान्छे बनाउने धोको छ– उनले थपे– मैले जस्तो दुःख छोराले नपाउन् ।

बिर्तामोड–१मा उनले पनि दुई कठ्ठा जग्गा लिजमा लिएर सागर रेलिङ उद्योग सञ्चालन गरेका छन् । उनले सोही उद्योगमा कंक्रिट प्रयोग गरेर भगवानका मूर्ति बनाउने गरेका छन् । ८ वर्षदेखि उनले भगवानको मूर्ति बनाइरहेको बताए । मूर्ति बनाएरै दुई छोरालाई पढाउन खर्च जुटाएको र घर व्यवहार पनि चलाएको उनी बताउँछन् । शालीक बाहेक सबै भगवानका प्रतिमाहरु बनाइ सकँे– उनले भने– चित्र हेरेर सोही अनुसार भगवानका प्रतिमा तयार पार्छु ।

अर्डर अनुसार एक हजार पाँचसय देखि ३५ हजारसम्मका भगवानको मूर्ति बनाएको उनको भनाइ छ । गणेश, विष्णु, सरस्वती, दुर्गा, लक्ष्मी लगायत सबै देवीदेवताका प्रतिमूर्ति बनाउने गरेको उनको बताए । ४ वर्ष लगाएर ललितपुरमा मामासँग सिकेको सिपबाट मंगलु सन्तुष्ट देखिएका छन् । बिदेश जाने सोच थियो– उनले भने– थुप्रो पैसा लाग्ने भएपछि पैसा जटाउन नसक्दा यो पेशा समातेको हुँ । आफूले यो पेशा २०४५ सालतिर सिकेको उनले बताए । त्यो बेला विदेश गएको भए अहिले मूर्ति बनाएर बस्नु पर्ने थिएन– उनले भने– त्यो बेला एक लाख रुपैयाँ जुटेको भए म पनि बिदेश पुग्थेँ ।

गरिवीका कारण बिदेश जान नपाएको दुःखेसो उनको मनमा अझै छ । धेरै संघर्ष गरेर सिकेको सिपको व्यापार घटेपछि उनी अहिले चिन्तित छन् । पहिला माटोको मूर्ति बनाइन्थ्यो, अहिले सिमेन्टको खोज्ने धेरै छन् सिमेन्टको एकपटक बनाएपछि वर्षौ ढुक्क हुन्छ, त्यसैले मूर्तिको व्यापार घटेको छ ।

आमाको पेटबाटै कसैले केही सिप सिकेर आएको हँुदैन– मंगलुले भने– चिया दोकानमा समेत काम गरेँ, अहिले यो पेशा अंगालेको छु, यसमा आत्मसम्मान र सन्तुष्टि दुवै पाएको छु ।’ मंगलुले १० हजार मासिक भाडा तिरेर र काम गर्न राखेका कालिगढलाई समेत तलव दिएर हाल मासिक २०देखि ३० हजार रुपैयाँसम्म कमाई गर्दै आएको बताएका छन् ।

कंक्रिटमा उपभोक्ता घटे

कंक्रिटबाट निर्माण गरिने भगवानका मूर्तिका ग्राहक घटेको मंगलुको भनाइ छ । उनले भने– सिमेन्टको प्रयोग गरेर बनाइएको मूर्ति वर्षौसम्म टिक्छ, त्यसैले अहिले ग्राहक घटेका छन् ।

उनले मूर्ति किन्न धनी र सौखिनहरु आउने गरेको बताए । मंगलुले भगवानका मूर्तिसँगै गेट, मन्दिर, भेन्टिलेसन, पार्किङ टायल्स लगायत निर्माण गर्ने गरेको बताए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर