Aamsanchar

पूर्णसिंह राजवंशीको भित्रिपाटो सेनाले मार्यो भनेका उनी दुईपटक सांसद बने

Author Image
बिहिवार, साउन १७, २०७५

सुरेन्द्र भण्डारी

बिर्तामोेड ।

२०५८ सालमा तत्कालीन घेरावारीको कलियागञ्जमा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी माओवादी लडाकु पूर्णसिंह राजवंशीको मृत्यु भएको खबर एकाएक फैलियो । राजवंशीको निधनको खवरले घर परिवार र आफन्त सवै शोकमा डुबे । पार्टीमा पनि उस्तै खैलाबैला मच्चियो ।

संगठन बिस्तारमा रहेका राजवंशीलाई शाही नेपाली सेनाले मारेको खबर सेना मार्फत नै सञ्चारमाध्यमसम्म आइपुग्यो । उनको मृत्युको खबर स्थानीय सञ्चारमाध्यम हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्यो अनि उच्च प्राथमिकताका साथ प्रकाशित र प्रशारित भयो । तर, तिनै राजवंशी अहिले प्रदेश सभा सदस्य छन् । गतवर्ष भएको निर्वाचनमा उनी झापा क्षेत्र नम्वर ३ ‘ख’ बाट निर्वाचित हुँदै प्रदेशसभा सदस्य बनेका हुन् ।

यसअघि पनि उनी २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए । २०६३मा अन्तरिम व्यवस्थापिका सांसद बनेका राजवंशी अहिलेपनि प्रदेशसभा सदस्य हुन् । पहिलो संविधानसभाको निर्वाचनमा उनी तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट चुनाव लडेका थिए ।

वुवा वाघा राजवंशी र आमा बिनोता राजवंशीका माइला छोराका रुपमा हल्दिवारी गाविस–९ खर्साङवारीमा २०२२ सालमा जन्मिएका पूर्णसिंह पूर्ण रुपमा २०५४ सालबाट माओवादीमा होमिएका हुन् । जनमोर्चा, मोटो मसाल, पातलो मसाल र एकता केन्द्र हुँदै उनी २०५५ सालमा क्षेत्रीय व्यूरो सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म बने । सोही क्रममा उनी दुई÷दुई पटक – सांसद बन्न भ्याए । पहिलोपटक भएको संविधानसभाको निर्वाचनमा जितेपछि आफ्नो ठाउँको खासै विकास गर्न नसके पनि यसपटक भने उनी आफ्नो ठाउँको विकासका लागि मरिहत्ते गरिरहेका छन् । उनी अहिले प्रदेशसभा सदस्य भएकाले आफ्नो क्षेत्रको विकासका लागि जोडतोडका साथ लागीपरेका छन् ।
कोचिला राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका राजवंशीले माओवादीमा प्रवेशसँगै संगठन विस्तारलाई नै निरन्तरता दिए । सोही क्रममा आफूलाई २०५८ सालमा नेपाली सेनाले घेरावारी गाविसको कलियागञ्जमा मारेको दावी गर्दै गलत प्रचार गरेको उनले बताए । विगत सम्झँदै राजवंशीले भने– म र अर्काे एक जना साथी कलियागञ्जमा संगठन विस्तारकै क्रममा थियौं, त्यो वेला हामीलाई सेनाले पत्तै नपाई घेरेछ, धन्न राजवंशीका घर झुरुप्प हुन्छन् घरको च्यापैच्याप भागेर ज्यान बचायौं ।’

भागेर केचना पुगेको सम्झँदै उनले भने– त्यो बेला दोहोरो भीडन्त भएको होइन, नेपाली सेनाले हामीलाई पच्छ्याएको चाँहि रहेछ तर उनीहरु मरे भन्दै गलत प्रचार गर्दा घर परिवार र समाज र पार्टी नै शोकमा डुव्यो ।’ नेपाली सेनाको पञ्जाबाट फुत्किएर भागेको म सात दिनपछि मात्रै परिवारको सम्पर्कमा आएँ । राजवंशीले थपे– ‘सवैतिर पूर्णसिंह म¥यो भन्दै हल्ला फैलिएछ साथमार्फत म सकुशल रहेको खबर सात दिनपछि मात्रै घर परिवारले थाहा पायो ।’

एकात्मक राज्य सत्तालाई परिवर्तन गर्न कठिन हुँदोरहेछ राजवंशीले विगत सम्झँदै भने – ‘भूमिगत काल सम्झदा अहिले मलाई सपना देखे झैं लाग्छ ।’ आफू संगठन विस्तारमा रहेकाले झापा, मोरङ र सुनसरीका अधिकांश राजवंशीलाई माओवादीमा प्रवेश गराउनुपर्ने कठिन काम थियो– राजवंशीले भने– ‘कुन बेला सेनाले मार्ने हो पत्तो थिएन तर पनि प्रत्येकका घर–घरमा पुगेर संगठन विस्तारको कामलाई भने एकैदिन रोकिनँ ।’

संगठन विस्तारकै क्रममा आफ्नै साथीलाई गुमाउनु परेको पीडा उनको मनबाट अझैं हट्न सकेको छैन । २०५८ साल मंसीरमा आफ्नै साथी प्रेमकुमार मगरलाई नेपाली सेनाले टाउकोमा गोली हानी आँखै अगाडि गरेको हत्या अझैं सम्झन्छन् उनी । ‘म रेग्मी जीको घरमा थिएँ, उनी लिम्बूको घरमा थिएँ त्यहीँ उनलाई गोली हानी सेनाले मा¥यो’ राजवंशीले गहभरि आँशु पार्दै भने–‘ त्यो बेला गुमाएको साथी अहिले पनि अझैं अगाडि झलझली आउँछन् ।’ भाग्यवस आफू बाँच्न सफल भएको बताउँदै उनले त्यसपछि संगठन विस्तारका सबै साथीहरु झापामा असुरक्षित महशस गर्दै मोरङ गएको बताए ।

राजवंशीले नेपाली सेनासँग आफ्नो धेरैपटक जम्काभेट भएपनि हतियार संकलन गरेर फर्किदा पुहाँतुवारीमा सेनाले ह्वाई फायर गर्दै लखेटेको दिनलाई जीवनकै कालो दिनका रुपमा लिएका छन्– उनले । ‘हामी चारभाइ दुई वटा साइकलमा चन्द्रगढीतर्फ जाँदै थियौं, उताबाट सेना आउँदै रहेछ, हामीलाई सेनाले रोकेर केरकार गर्न थाल्यो, हामी बिरामी भएर भद्रपुर गएको मात्र के भनेका थियौं सेनाले साफ झपा¥यो, राति थियो’– उनले भने –‘सेनाले झपारेपछि एक जना साथी साइकल फालेर भागेका मात्रै के थिए, सेनाले फायरिङ खोलिहाल्यो, धन्न त्यो दिन हवाई फाइरिङ गरेछ ।’

सेनाले बन्दुक पड्काउन थालेपछि आफूहरु साइकल छाडेर भागेको उनले बताए । सेनाले त्यो दिन सिँधै सुट गरेको भए आज मैले यो दिन देख्न पाउने थिइनँ राजवंशीले भने– ‘अहिले पनि त्यो दिन सम्झन्छु अनि मसंगैका साथी दिवस राजवंशी, आदर्श राई र रञ्जित राजवंशीलाई धेरै सम्झिन्छु ।’

२०४४ सालमा प्रर्मिलासँग विवाह बन्धनमा वाँधिएका राजवंशी सवैका प्रिय भएकै कारण दुई – दुईपटक सांसदमा निर्वाचित भएका हुन् । भूमिपुत्रका रुपमा चिनिएका राजवंशी समुदायमा मात्र नभई सिङ्गो समुदायका लागि पूर्णसिंह लोकप्रिय छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर