Aamsanchar

अचेत अवस्थाका बिरामी स्वदेश ल्याइँदै

Author Image
बिहिवार, भदौ ७, २०७५

काठमाडौं ।

विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भएको छ । सरकार यस विषयमा अन्त्यन्त गम्भीर छ ।”

वैदेशिक रोजगारीमा गएका हजारौँले जीवन गुमाउनु पर्नाको कारण अध्ययन गर्न जरुरी भएको बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सको टोली गठन गरेर नेपाली कामदारको मृत्युको कारण अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा सुतेका श्रमिकको अर्को दिन मृत्यु हुन्छ । यसको कारण हामीले खोज्नुपर्छ । अबका दिनमा यस्ता घटना हुन नदिन श्रमिकहरुलाई सचेत गराउन हामी प्रयत्नशील छौँ ।”

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री विष्टले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याएर अस्पतालमा राख्न पहल गरिरहनुभएको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् । कमाई गर्ने व्यक्ति नै कोमामा पुगेपछि आश्रीत परिवार आर्थिक तथा मानसिक रुपमा विक्षिप्त हुँदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर