Aamsanchar

भूकम्पपछि चट्याङले धेरैको ज्यान लियो / सात वर्षमा सात सय ७३ जनाले ज्यान गुमाए

Author Image
मङ्गलवार, भदौ २६, २०७५

बिर्तामोड।

नेपालमा प्राकृतिक विपद्हरुमध्ये भूकम्पपछि चट्याङका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने गरेको पाइएको छ । बितेको सात बर्षको सरकारी तथ्यांकले यो अवस्था देखाएको हो । त्यसो त यही साता चट्याङका कारण पूर्वका जिल्लामा चार जना घाइते भएका छन् ।

गत मंगलबार इलामको माई नगरपालिका–६ स्थित बज्रेमा चट्याङ पर्दा ३ जना घाइते भएका थिए । अविरल वर्षासंगै चट्याङ पर्दा माई नगरपालिका–६ बस्ने २७ वर्षीया कुमारी योङ्हाङ, सोही ठाउँकी २२ वर्षीया माया लिम्बू र वर्ष २२की पवित्रा लिम्बू घाइते भएका थिए ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका–१मा बिहीबार विहान चट्याङ लागेर एक महिला घाइते भइन् । अविरल वर्षासँगै परेको चट्याङबाट ६५ वर्षीया बिमला तामाङ घाइते भएकी हुन् । यसैगरी इलामको रोङ गाउँपालिका–५ र सूर्योदय नगरपालिका –१मा चट्याङ लागेर २ वटा चौपाया मरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा संकलित विवरणका अनुसार २०६८देखि २०७४ सालको अवधिमा चट्याङका कारण सात सय ७३ जनाले ज्यान गुमाएका छन् । त्यसबाट झण्डै १७ सय घाइते भएका छन् ।

भूकम्पका कारण करिब नौ हजार मानिसको ज्यान गएको सरकारी तथ्याङ्कमा उल्लेख छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा संकलित विवरण अनुसार चट्याङका कारण २०६९ सालमा सबैभन्दा बढी एक सय ३१ जनाको ज्यान गएको थियो ।

वि.सं. २०७१ सालमा एक सय २८ जनाको चट्याङका कारण ज्यान गएको जनाइएको छ । वि.सं. २०७३ मा ११५ जना, २०७०मा १११ जना, २०७४मा १०५, २०६८ मा १०३ जना र २०७२मा ८० जनाको ज्यान गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा संकलित विवरणमा उल्लेख छ । मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने गरेको विज्ञहरुको भनाइ रहेको छ ।

चट्याङबाट ज्यान गुमाउने तथा घाइते हुनेको संख्या वर्षेनि बढ्दै गर्दा समेत क्षति न्यूनीकरणका लागि सरकारले पर्याप्त कदम चाल्न नसकेको कतिपयले गुनासो गर्ने गरेका छन् । वर्षेनि चट्याङबाट मृत्यु हुनेको संख्या बढे पनि सरकारी स्तरबाट प्रभावकारी काम हुन नसकेको विज्ञहरुको भनाइ छ । विज्ञहरूका अनुसार नेपालमा मध्य चैतदेखि मध्य असारसम्म बेलुकातिर बढी चट्याङ पर्ने गर्छ ।

झापा, इलाम, संखुवासभा, भोजपुर, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा चट्याङसँग सम्बन्धित बढी घटना हुने गरेको गृहमन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । शनिबारराति परेको चट्याङका कारण झापामा मानवीय क्षति नभए पनि चट्याङले धेरैलाई त्रसित बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरे पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर