Aamsanchar

बिरिङ्गको ढुङ्गामा तस्करको रजाई, प्रहरी देख्दैन र जनप्रतिनीधिलाई वास्तै छैन्

Author Image
मङ्गलवार, असोज ९, २०७५

शम्भु दाहाल / इलाम ।

प्रहरी, स्थानीय सरकारका प्रतिनिधि र तस्करको सेटिङ्गमा बिरिङ्ग खोलाबाट दैनिक नदिजन्य पदार्थको चोरी पैठारी हुने गरेको छ । इलाम र झापाको सीमा क्षेत्रबाट दैनिकरुपमा सयौँ ट्याक्टरमा ढुङ्गा लोड गरी झापा तर्फ लागिने गरेपनि स्थानीय सरकार र प्रहरी रमिते बनेको छ ।

इलामको रोङ्ग गाउँपालिका, झापाको अर्नुधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको क्षेत्रमा रहेको क्षेत्रबाट दैनिक ढुङ्गाको अबैध निर्यात हुने गरेको हो । रोङ्ग गाउँपालिक १ र ४ नम्बरको काउछेटार, झोलुङ्गे पुल, कटहरे, बगैचे, मानाबुढङ्ग, लामिदुवाली र बुद्धशान्तिको भोटेटार, देउराली, अजुनधाराको माटेलागायका क्षेत्रबाट ढुङ्गा लैजाने गरेको स्थानीय बताउँछन् ।

झापाको क्षेत्रमा तत्कालिन जिविसले ठेक्का लाउने गरेपनि असारबाट असोजसम्म बर्षाको समयमा बन्द गने गरेको थियो । अहिले स्यानीय निकायलाई यो अधिकार दिइएपनि खोलाको तस्करी नियन्त्रण गर्न सकेको छैन ।

इलाम क्षेत्रमा भने आजसम्म ठेक्का लगाइएको छैन । चुरे क्षेत्रमा पर्ने भएकाले ठेक्का नलगाइए पनि तस्करले रातदिन ढुङ्गा तस्करी गरि झापा लैजाँदा पनि दुबै जिल्लामा रहेका स्थानीय सरकार मौन छन् ।

बिशेष, बिहान र बेलुकाको समयमा इलामको क्षेत्रबाट ल्याएको ढुङ्गा बुद्धशान्ति १ को भेटेटार, देउराली होक्से लगायतका ठाउँमा राखिन्छ । स्थानीय सरकारमा प्रमाणित गरी ठेक्का लगाइएको ठाउँको ढुङ्गा किनेर राख्न पाउने प्रावधान भए पनि स्थानीय निकायको अनुपस्थितिमा त्यहाँ ढुङ्गा राख्ने गरिएको छ ।

अनुमति भन्दा सयौ गाडी बढी ढुङ्गा राखिएकोमा त्यो जथाभाबीरुपमा बिक्री गर्दापनि स्थानिय निकायबाट स्टोर कतीको छ र त्यसैबाट घटाउनु पर्ने हुन्छ । तर, १ सय घनमिटर बेच्ने अनुमति लिएर महिनौंसम्म त्यही कागज लिएर हिड्दा पनि प्रहरीले रोक्दैन ।

हजारौ गाडी ढुङ्गा स्टोर रहेको बुद्धशान्ति १ मा पर्ने होक्से, देउराली, भोटेटारका घाटगद्धीमा त्यो ढुङ्गा कहाँबाट आयो भनेर बुझ्न न त प्रहरी पुग्छ, नत स्थानीय निकाय नै ।बिरिङ्ग खोला नजिकै प्रहरी चौकी छैन । इलाका प्रहरी कार्यालय बुधवारे र प्रहरी चौकी किटेनी हेर्ने गरेको भए पनि तस्करसँगको सेटिङ्गका कारण बोलाउँदा पनि ढिलो आउने गरेको स्थानीयको गुनासो छ ।

बिरिङ्ग र टिमाई खोलामा तस्करी गर्ने गरेका प्रत्येक ट्याक्टरले बुधवारे प्रहरी इन्चार्जलाई मासिक ५ हजार रुपैयाँ बुझाउने गरेको बताइन्छ । टिमाई र बिरिङ्ग खोलाबाट दैनिक ढुङ्गा बोक्ने १ सय हाराहारीमा रहेका ट्याक्टरले प्रहरीलाई मात्र महिनामा ५ लाख रुपैयाँ बुझाउँने स्रोतले बताएको छ ।

स्थानीयवासी गाउँपालिकाको पनि मिलेमतो भएको हुन सक्ने बताउँछन् । तर यो बिषमा रोङ गाउँपालिकाका प्रमुख शमसेर राईसँग बुझ्दा इलाम र झापाको प्रमुख जिल्ला अधिकारी र एसपीलाई पटक पटक जानकारी गराउँदा पनि हुन्छ कहाँ नेर हो ? हजुर हामी रोक्छौ, मात्र भन्ने गरेको तर काम नगरेकाले बिरिङ्ग खोलाको ढुङ्गा तस्करी नियन्त्रण गर्न नसकेको कथा सुनाउँछन् ।

इलामबाट ल्याए झापा चुप

केही दिन अगाडि बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर १ का जनप्रतिनिधीहरु, तिनतले सामुदायिक बनका पदाधिकारीहरु र तस्करहरुको मिटिङ्ग बसेर झापाको क्षेत्रको ढुङ्गा नछुने र इलामबाट ल्याएको केही नगर्ने मौखिक सहमति भएको बैठकका एक सहभागीले बताए ।

झापा क्षेत्रमा ढुङ्गा उठाउँदा माथिबाट दवाव आएको र इलामको मात्र उठाउन स्थानीय जनप्रतिनिधिले ढुङ्गा तस्करसँग अनुनय गरे पछि अहिले इलामको क्षेत्रबाटमात्र ल्याउन थालेको स्रोतको दावी छ ।

साँझ र बिहानको समयमा ट्याक्टरले ढुङ्गा भित्र छोपेर काठ पनि तस्करी गर्ने गरेको स्थानीय बताउँछन् । इलामको सुन्दर, शिवसुन्दर, रामजानकी र झापाको तीन तले र हचुमासा सामुदायिक बनबाट सखुवाको काठ लाने गरेको स्थानीयको भनाई छ ।

झापा तिरका तस्करहरु आउँछन् रोक्न खाजे नुन तेल खाने बाटो रोक्ने धम्की दिन्छन् । नाम नबताउने शर्तमा उनले थपे पोहोर तिहारमा झापाका तस्करले लैजादै गरेको काठ पक्राउँदा केही दिनमै दुर्गा खनालको हत्या गरे । हत्या गर्न लाउनेहरु अहिले खुलेआम तस्करी गरिरहेका छन् त्यसैले हामी केही गर्न सक्दैनौ ।

पहिरोको जोखिममा रोङ, झापाको खेतमा पानी उठेन

धेरै भुभाग चरे क्षेत्रमा पर्ने रोङ गाउँ पालिका प्राकृतिक रुपमा कमजोर रहेको छ । खुकुलो पत्रे चट्टान र माटोले बनेको यो क्षेत्र प्राकृतिक रुपमा कमलो भूभाग हो ।

प्राकृतिक रुपमै चुरे क्षेत्रमा भुस्खलनको समस्या छ भने मानव सिर्जित कारणले झन् ठूलो समस्या बनेको छ । यसक्षेत्रबाट बग्ने खोलाहरुको मुहान एक मिटर मात्र चौडा छ भने दुई किलोमिटर तल दुई सय मिटर भन्दा बढी फैलिएका छन् ।

चोरी तस्करी, बनअतिक्रमण तथा घाँस दाउरा र काठका लागि अत्यधिक मानिस आश्रित हुँदा यो क्षेत्रको विनाश भएको हो । जिविकोपार्जनका लागि पनि धेरै मानिस चुरे क्षेत्रमा आश्रित बनेका छन् भने बसोवास र सार्वजनिक कामका नाममा चुरे क्षेत्रमा अतिक्रमण बढ्दो छ ।

चुरेको दोहन रोक्न आश्रित मानिसलाई जिविकोपार्जनको बिकल्प दिन जरुरी छ । यसका लागि सामुदायिक वनहरुले गरिवी निवारणमा खर्च गर्नुपर्ने ३५ प्रतिशत रकमको सही सदुपयोग गर्न जरुरी छ ।

लगातार रुपमा बिरिङ्ग खोलाको ढुङ्गा टिप्दा खोला गहिरिएका कारण माटो उँदो बग्दा बर्षायाममा पहिरोको जोखिम रहेको स्थानीय बताउँछन् । यसै कारण तत्कालिन शान्तिपुर र कोल्बुङ्ग गाविसका धेरै जसो वार्डमा ढिस्का झर्ने र पहिरो जाने क्रम बढेको छ । खोलामा यसरी नै ढुङ्गा टिप्ने क्रम नरोकिए बस्ती नै पहिरोको जोखिममा पर्ने छ । ढुङ्गा तस्करलाई रोक्न खोजे पनि धाँक धम्कीका कारण रोक्न नसकिएको स्थानीयले बताए ।

निरन्तर खोलाजन्य सामाग्री उठाउँदा बिरिङ्ग खोलाको पानी पैनीमा उठ्न छोडेको छ । खोला गहिरिएका कारण पैनीमा पनि नउठेपछि बुधवारे, होक्से, देउराली, साधुटार, जयपुर लगायत ठाउँका कृषक मारमा परेका छन् । झापाको उर्भरभूमिमा सिंचाइको समस्या देखिएसँगै धान उत्पादनमाका लागि आकासको पानीको भर पर्नु पर्ने भएको छ । यसले उत्पादनमा असर पर्ने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर