Aamsanchar

नयाँ प्रविधिले उत्पादन बढ्यो

Author Image
मङ्गलवार, असोज १६, २०७५

दमक।

झापाको धान सुपरजोन क्षेत्रका किसानहरु नयाँ प्रविधिबाट धान रोप्दा मनग्ये फलेपछि उत्साहित भएका छन् । परम्परागत रुपमा धान खेती गर्दै आएका किसानहरु सुख्खा र हिलोमा ड्रम सिडरबाट छरुवा धान रोप्दा सोचेभन्दा धेरै धान फलेपछि उत्साहित भएका हुन् ।

झापा पथरियाका ८० बर्षीय किसान मच्छिन्द्रनाथ दाहालले शुरुवातमा आफूले नपत्याएको तर धानको गाँज आउन थालेपछि भने अचम्ममा परेको बताए । यसभन्दा अगाडि रञ्जित र सर्ना जातको धान रोप्दै आएका उनले पहिलोपटक हिलोमा ड्रम सिडरबाट प्राविधिकको सल्लाहमा गरिमा जातको धान लगाएका थिए ।

मुस्किलले प्रतिकठ्ठा ३देखि बढीमा ४ मन धान फल्ने गरेकोमा दुई दिन अघि काटेको धान प्रतिकठ्ठा ५ दशमलव ४ मन फलेको उनले बताए । अर्को धानभन्दा झण्डै एक महिना अघि नै काट्न पाएको र धान पनि धेरै फलेपछि उनी अहिले दंग छन् ।

अर्का किसान हेमानन्द भट्टराई पनि उत्साहित छन् । उनले पनि सुख्खामा ड्रम सिडरबाट धान रोपेका थिए । आफूले नयाँ प्रविधिबाट धान रोप्दा योपटक प्रतिकठ्ठा ५ दशमलव ५ टन धान फलेको उनले बताए । धान सुपरजोनका प्राविधिकहरुको सल्लाहमा आफूले पनि गरिमा धान छरेको बताउँदै उनले आफूलाई खेतीमा लाग्न थप प्रेरणा मिलेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन बनियानीका बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाका अनुसार पहिलोपटक यस क्षेत्रमा नयाँ प्रविधिको प्रयोगबाट धान रोपिएको थियो । हिलो र सुख्खा खेतमा ड्रम सिडरबाट धान रोप्दा कस्तो होला भनेर प्रतिक्षामा रहेका किसानहरु अहिले राम्रो धान फलेपछि उत्साहित बनेको उनको भनाइ छ । प्रतिबिगाह कम्तीमा पनि १ सय मन धान फलेको र कतै १ सय २५ मनसम्म फलेको उनले बताए ।

बीऊ राख्नका लागि पानी पनि पर्खिनु नपर्ने र ब्याड नै नराखी छरुवा विधिबाट रोपिएको धान छिटो पाक्ने भएकाले किसानहरुले उक्त जमिनबाट थप लाभ लिन सक्ने भएकाले यो बिधि प्रभावकारी हुने देखिएको छ । लागत रकम र जनशक्ति कम लाग्ने भएकाले अब किसानहरुको रोजाइ प्रविधिको प्रयोगमा हुन्छ भन्ने हामीलाई लागेको छ– तिम्सिनाले भने ।

ड्रम सिडर मेसिनबाट खेत हिल्याएर रोपाइँ गरिन्छ । छरूवा विधि अन्तर्गत ड्रम सिडर मेसिनबाट रोपाइँ गर्दा प्रतिबिगाह लागत मूल्य ५ देखि ७ हजार पर्छ । तिम्सिनाका अनुसार धान सुपरजोन क्षेत्रमा करिब ७ सय बिगाह जमिनमा किसानहरुले व्यवसायिक रुपमा प्रविधिमा आधारित रहेर खेती गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर