Aamsanchar

पहिलो पटक आधुनिक प्रविधिको खेती शान्तिनगरमा

Author Image
आइतवार, मंसिर ९, २०७५

दिपेन लावती / शान्तिनगर ।

झापाको बुद्धशान्तिमा आधुनिक प्रविधिको प्रयोग गरि ब्यवसायिक तरकारी खेती शुरु गरिएको छ । यो प्रविधिबाट थोरै लगानी, मेहनत कम र बढी आम्दानी लिन सकिने भएपछि आधुनिक प्रविधिको खेती तर्फ किसानहरु आकर्षित भएका हुन् ।

झापाका पुराना सब्जी ब्यवसायि दमक–७ का पप्पु चौधरीले बुद्धशान्ति गाउँपालिका–६ ठूटेवरवाट करिव ५ सय मीटर उत्तर लीला भण्डारी र राजेश राईको ३२ कठ्ठा जमीन २ बर्षका लागि भाडामा लिई आधुनिक प्रविधिबाट टमाटर, कोभी, भेडे खुर्सानी, करेला र भिण्डीको ब्यवसायिक खेती गरेका छन् ।

शान्तिनगरमा पहिलो पटक आधुनिक (मल्चिङ) प्रविधिबाट तरकारी खेती गरिएको हो । उनका अनुसार यस अघि यहाँका किसानले परम्परागत ढंगले खेती गर्दै आएका थिए । खेतीमा प्रविधिको प्रयोग गर्ने हो भने थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी गर्न सकिन्छ । उनले एकै किसिमका मात्र तरकारी रोपेका छैनन् । वजारको माग अनुसारका खेती गरेका छन् ।

पहिलो पटक खेतीमा हात हालेका चौधरीले ‘कर्मा गु्रप अफ कम्पनी’को साथ पाएका छन् । तरकारी खेतीमा आउने समास्या समाधानका लागि कम्पनीले प्राविधिक सहयोग समेत गर्ने गरेको छ । पूर्ण रुपमा अर्ग्यानिक खेती गरिएको सो ठाउँमा आधुनिक नेट सहितको टनेल निर्माण गरिएको छ । जहाँ किरा मार्न विसादी प्रयोग गरिदैँन् । ट्राप (भाले जातको किरा मार्ने प्रविधि) राखिएको छ । जसले भाले किरा आउने र टाँसिएर मर्ने हुदाँ सत्रुजीव किराको संख्या कम हुदाँ विरुवामा कम रोग लाग्ने गर्दछ ।

उनको फिल्डमा सागर जातको भेडे खुर्सानी, अल राउण्डर, हजार सन्ताउन्न टमाटर, पीपल र पाली जातको करेला, भिण्डी पनि छ । उनी भन्छन् ‘रोगले तरकारी खेतीलाई ग्रसित पारिरहेको छ । धेरै किसिमको तरकारी रोप्दा कुन जातको तरकारीको विरुवामा कम रोग लाग्छ, त्यसको प्रयोग पनि हामी गरिहेका छौ ।’ हाल टमाटरमा देखिएको ‘ब्याक्टेरीया विल्ड’ सवै विरुवामा देखिएको छ । यसले विरुवालाई सुकाएर मार्ने गर्दछ । यसलाई रोक्न गाह्रो छ–उनले भने ।

शान्तिनगर टमाटर उत्पादनको उर्वरभुमी हो । युवापुस्ताको विदेश पलायन, विरुवामा रोग, वजार अभाव लगायतका कारण पछिल्लो समय टमाटरको उत्पादन कम हुन थालेपछि यहाँका किसानलाई उत्प्रेरण जगाउन र आधुनिक खेती तर्फ आकर्षित गर्न यो खेती सहयोगी बन्ने चौँधरीले बुद्धशान्ति साप्ताहिकसंग कुराकानीको क्रममा भने । रासाइनिक विसादी कम, अर्ग्यानिक मलको उच्च प्रयोगले उत्पादन वढाउन सकिन्छ भन्ने सन्देश छर्न खेती गरिएको उनले बताए ।

साउन २४ गतेबाट फिल्ड तयार गरि रोपिएको तरकारी हाल टिप्ने र वजारसम्म पूर्याउने वेला भएको छ । फिल्ड तयार गरेदेखि अहिलेसम्म ९ लाख रुपैयाँ खर्च भएको बताउँदैँ चौधरीले कति कमाइन्छ त्यो भने वजार भाउले निर्धारण गर्ने बताए । ११ जना स्थानीय कामदारले प्रत्यक्ष रोजगार पाएको उक्त फर्ममा शान्तिनगरका पुराना किसान वालकृष्ण धिताललाई रेखदेख र कामदार लगाउने जिम्वेवारी दिइएको छ ।

साथीभाईको सर–सल्लाहाले तरकारी खेतीमा होमिएका चौँधरीले कुनै सरकारी सेवा सुविधा लिएका छैनन् । नेपाल कृषि प्रधान देश हो । सरकारले कृषिमा ठूलो लगानी गरेपनि ग्रामिण भेगका किसानसामु त्यो वजेट आउन सकेको छैन् । यदि किसानका लागि आधुनिक प्रविधिका खेतीका लागि वजेट, तालिम, मलखाद, विउँ, सिँचाईको सुविधा उपलब्ध गराउने हो भने नेपालबाट ठूलो संख्यामा नेपाली विदेश जानु पर्ने थिएन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 500

प्रतिक्रिया (०)