Aamsanchar

निर्माणाधीन सरकारी भवन दुई वर्षदेखि अलपत्र

Author Image
बिहिवार, माघ १०, २०७५

शिवगञ्ज।

स्थानीय निकायले वेवास्ता गर्दा झापाको साविक पाँचगाछी गाविसको भवन निर्माण कार्य अलपत्र परेको छ । वडा नम्बर ४ स्थित जनता बजारमा रहेको भूकम्प प्रतिरोधात्मक उक्त सरकारी भवन सरोकार राख्ने निकायले वेवास्ता गर्दा दुई वर्षदेखि अलपत्र परेको हो ।

द्वन्द्व ताका साविकको पाँचगाछी गाउँ विकास समितिको भवनमा तत्कालीन माओवादीले आगजनी गरेको थियो । माओवादीले ०५१ सालमा गाविसका कागजातमा आगजनी गरे भने ०५९ सालमा भवनमै आगजनी गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

आगजनीपछि बिस्थापित भएको कार्यालय विस्तृत शान्ति सम्झौतापछि साविककै स्थानमा पुनःस्थापित भएको स्थानीय वासिन्दा बताउँछन् । द्वन्द्वताका भत्किएका र आगजनी गरिएका देशैभरका सरकारी भवन तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले निर्माण गर्ने कार्यक्रम अनुरुप पाँचगाछी गाविसको भवन पनि निर्माणको चरणमा थियो ।

स्थानीय जानकारका अनुसार मन्त्रालयले क्रमागत ५० लाख बजेट विनियोजन गरेपछि उक्त भवन ०७३ सालमा निर्माण हुन थालेको थियो । शान्ति मन्त्रालयले ०७४ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने स्थानीय भवन निर्माण उपभोक्ता समितिसँग सम्झौता ग¥यो । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार मन्त्रालयले उपभोक्ता समितिसँग गरेको सम्झौता अनुसारको रकम नदिएका कारण निर्माण कार्यबीचैमा रोकिएको हो ।

मन्त्रालयले पहिलोपटक १० लाख भुक्तानी दिएको थियो । उपभोक्ता समितिका अध्यक्ष सुवेदीले भने– ‘हामीले स्थानीय मोहन गौतमलाई प्रकृयागत रुपमा ठेक्का दियौं, ठेकेदारले पनि रकम अनुसारको तोकिएकै समय–समयमा जमिनमुनिको काम (जग) निर्माण गरे ।’ त्यतिबेला जिल्ला विकास समितिको खातामा मन्त्रालयले रकम हालिदिएको थियो ।

जिविसले पनि पाँचगाछी गाविसको खातामा भवन निर्माणका लागि रकम जम्मा गरिदियो । तर, दोश्रो किस्तामा जिविसले स्थानीय उपभोक्ता समितिलाई थाहै नदिई सोही ठाउँका कृष्ण गुरुङलाई बाँकी रहेको भवन निर्माणको कामको जिम्मा लगाएपछि स्थानीय रुष्ट वने । जिविसले निर्माण सामग्री आफैं खरिद गरेर गुरुङलाई काम जिम्मा दिएको स्थानीय जानकार बताउँछन् ।

भवनको करिव ५० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी रहेको काम सम्पन्न गर्न मन्त्रालयले बजेट निकासा नगर्दा समस्या भएको स्थानीय टंक ढुंगेलले वताए । उनले भने– मन्त्रालयमा लविङ नगर्दा दुई वर्षदेखि भवन निर्माण कार्यवीचैमा अलपत्र परेको छ । हामीले तत्कालीन जिविसदेखि मन्त्रालयसम्म लविङ गर्यौं तर, स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहिताको कारण देखाउँदै मन्त्रालयले वजेट निकासा नगर्दा बिनियोजित क्रमागत वजेटबीचैमा रोकिएको निर्माण उपभोक्ता समितिका सदस्य ढुंगेलले वताए ।

०७४ असारमै भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने हो । तर, दुई वर्षदेखि भवन निर्माण प्रकृया अलपत्र रहँदा शिवसताक्षी नगरपालिका वडा नम्बर ४को वडा कार्यालयको दैनिक कामकाज गर्न समस्या परेको वडाध्यक्ष अधिकचन ताजपुरियाले बताए । उनले भने– सानो भवनको साँघुरो कोठामा वडाको कामकाज गर्न असजिलो भएको छ ।’

स्थानीय बासिन्दाले साविकको पाँचगाछी कार्यालय भवन निर्माणका लागि स्थानीय शिवसताक्षी नगरपालिकाले चासो देखाउनुपर्ने बताएका छन् । मुलुकमा तीनै तहको सरकार गठन भइसके पनि यस्ता संरचना निर्माणमा स्थानीय सरकारले चासो नदेखाएको स्थानीयको आरोप छ । स्थानीय भन्छन्– ‘जिविसले गठन गरेको निर्माण उपभोक्ता समितिलाई सक्रिय गराएर बिनियोजित रकम तुरुन्त भुक्तानी दिइयोस् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर