Aamsanchar

धुलाम्मे सडकले स्थानीय पीडित

Author Image
बिहिवार, फागुन २, २०७५

अमित खम्बू / अर्जुनधारा।

बजेट अभावका कारण पूर्णरुपमा कालोपत्रे हुन नसकेको झापाको अर्जुनधारा–९स्थित प्रणामी मन्दिर–देवर्षि टोल–नयाँ बसपार्क हुँदै पूर्व–पश्चिम राजमार्गमा जोडिने सडक किनारका स्थानीय उपभोक्ताहरु धुलोका कारण पीडित बनेका छन् ।

जिल्लाका सहायक सडकहरुमध्ये बिर्तामोड–शनिश्चरे–खुदुनावारी हुँदै छिमेकी जिल्ला इलाम पुग्ने वैकल्पिक सडकको रुपमा समेत रहेको उक्त सडकमा दैनिक सञ्चालन हुने सबै प्रकारका यातायातका साधनहरुले उडाउने धुलोका कारण उनीहरु पीडित बनेका हुन् ।

अनुमानित पाँच किलोमिटरमध्ये डेढ किलोमिटर भाग कालोपत्रे हुन बाँकी रहेको सो सडकमा धुलोले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर गर्ने तथा कच्ची सडकमा भएको खाल्डाखुल्डीहरुले सवारी दुर्घटनाको जोखिम बढाएको स्थानीय योगेन्द्र पौड्याल बताउँछन् । सम्बन्धित निकायबाट चासो नदिइँदा सडकको बाँकी भागमा कालोपत्रे नभएको उनले आरोप लगाए ।

२०२१ सालमा भएको सर्भेको क्रममा साविक शनिश्चरे गाउँ पञ्चायतको नक्सामा रहेको तीन वटा सडकमध्येको उक्त सडक बाँकी भागमा कालोपत्रे गर्नु नै समस्या समाधानको एक मात्र विकल्प भएको उनले बताए । ‘योभन्दा पछि निर्माण भएका सडकहरु कालोपत्रे भइसके, तर यसतर्फ जनप्रतिनिधिको पनि ध्यान नपुग्दा सडक ओझेलमा परेको छ’– जनप्रतिनिधिहरुप्रति कटाक्ष गर्दै उनले भने ।

साविक २८ फिटबाट आर्थिक वर्ष ०६७÷०६८मा ४० फिट कायम गरी स्तरोन्नतिको कार्य शुरु गरिएको उक्त सडकबाट छिमेकी गाउँपालिका बुद्धशान्तिका विभिन्न स्थानहरु हुँदै इलाम जाने छोटो मार्गको रुपमा रहेको अर्का स्थानीय सूर्यप्रसाद अधिकारीले बताए । अनुमानित चार हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने सो सडकको स्तरोन्नति गर्ने क्रममा स्थानीयहरुकोतर्फबाट पनि पटक–पटक आर्थिक सहयोग जुटाउने काम भएको उनले बताए ।

सडक कालोपत्रेको विषयमा सो क्षेत्रबाट निर्वाचित संघीय सांसद् पवित्रा निरौला खरेल र प्रदेश १का सांसद् वृख प्रधानलाई जानकारी गराउँदा आश्वासन मात्र पाएको स्थानीय यदु बिमलीले बताए । सोही विषयमा गत महिना स्थानीयहरुले सडक कालोपत्र गरी पाउँ भनी एक सय चार जना उपभोक्ताले हस्ताक्षर गरेको जानकारी पत्रमार्फत् स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । तत्काल कालोपत्रे वा वैकल्पिक उपाय अवलम्वन गरिदिन आग्रह गरिएको उक्त पत्रमा दुवै कार्य नभए धुलोको कारण हुने रोगबाट जोगिन त्यस सडकमा सञ्चालन हुने सम्पूर्ण यातायातका साधनहरुलाई बाध्य भई बन्द गर्ने चेतावनी दिइएको छ ।

साविक शनिश्चरे गाँउ विकास समिति, शनिअर्जुन नगरपालिका, सडक डिभिजन कार्यालय दमकको सहयोगमा खण्डखण्ड गरी कालोपत्रे गरिएको उक्त सडकको लागि सबैले पहल नगर्दा बाँकी काम सम्पन्न गर्न बजेट नपरेको नगरपालिकाका इञ्जिनियर निरज अधिकारीले बताए ।

बत्तीमुनीको अँध्यारोझैं भएको छ– उनले भने । चालू आर्थिक वर्षको लागि बजेट बाँडफाँड गरिसकिएको हुँदा आगामी आर्थिक वर्षमा स्थानीय सरकार र स्थानीयको साझेदारीबाट काम सम्पन्न गर्नु बाहेक तत्कालको लागि अन्य विकल्प नभएको नगरप्रमुख हरिकुमार रानाले बताए ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर