Aamsanchar

बाहुनका विद्यालयमा लिम्बू भाषाको पढाई

Author Image
बिहिवार, फागुन २, २०७५

शिवसताक्षी।

आवाज लिम्बू कक्षा ३ का विद्यार्थी हुन् । उनी झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित माईधारको मेची इङ्लिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत् छन् । उनका अभिभावकले विश्वव्यापी रुपमा चल्दै आएको अंग्रेजी भाषाकै लागि सो विद्यालयमा भर्ना गराए । अंग्रेजीमा पढ्न र लेख्नमा त आवाज अब्बल नै बने । यो संगै विद्यालयले लिम्बू भाषाको ऐच्छिक विषयमा पनि अध्ययन अध्यापन गर्नथालेपछि उक्त भाषामा पनि आवाज अरुभन्दा अव्बल बनेका छन् ।

आवाजको परिवारमा यतिबेला खुसी छाएको छ । अग्रेजी पढ्न पठाएको छोराले लिम्बू भाषा सिकेर कुरा गर्न थालेपछि उनको परिवारमा खुसी छाएको हो । उनकी हजुुरआमा (बजु) दिलकुमारी लिम्बूले भनिन्– ‘बोर्डिङ्गले पनि स्थानीय मातृभाषामा पढाउन थालेपछि नामेट हुन लागेको लिम्बू समुदायको भाषा र लिपिको जगेर्ना भएको छ ।’ आवाजले सानै उमेरमा लिम्बू भाषा सिकेर गाउँघरमा कुरा गर्दा उनका आफन्त छक्क पर्छन् ।

उनी लिम्बू भाषामा जस्तोसुकै कुरा गर्न सक्ने भएका छन् ।आवाजको जस्तै मिसेकहाङ्ग चेम्जोङ पनि लिम्बू भाषामा अब्बल छन् । उनले पनि मेची इङ्लिस बोर्डिङ्ग स्कुलमै लिम्बू भाषा सिकेका हुन् । सातामा दुई दिन सोमबार र मंगलबार श्रीजंघा लिपिको पढाई हुने लिम्बू भाषा कक्षामा ३ र ४ का गरी २० जना विद्यार्थी अध्ययनरत् छन् । जनक शिक्षा सामग्री केन्द्रले स्वीकृत गरेको परिमार्जित ०६४ को पुस्तक विद्यालयमा अध्ययन अध्यापन हुने गरेको छ ।

लिम्बू जातिको भाषा र लिपि संरक्षण गर्ने उद्देश्यले मेची इङ्लिस बोर्डिङ्ग स्कुलले ५० पूर्णाङ्कको ऐच्छिक विषय अन्तर्गत लिम्बू भाषामा अध्यापन गराएको विद्यालयका प्रिन्सीपल भीमप्रसाद भट्टराईले बताए । उनले भने– ‘आउँदा पुस्ताले मातृभाषा नसिकेकैले प्रयोग गर्न नजान्दा यो भाषा नामेट हुनबाट बचाउन लिम्बू भाषामा अध्ययन अध्यापन गराइएको हो ।’ विद्यालयले अघिल्लै शैक्षिक सत्रदेखि लिम्बू भाषामा पढाई गर्ने योजना बनाएको थियो । तर, शिक्षक–शिक्षिका नपाउँदा विद्यालयको योजनाले मूर्तरुप पाउन सकेको थिएन । प्रिन्सीपल भट्टराई भन्छन्– ‘हामीले दक्ष शिक्षक पाएपछि विद्यालयमा पठनपाठन शुरु भएको हो ।’

सात जनामध्ये एकजना लिम्बू समुदायका सञ्चालक छन् । बाँकी सबै ब्राम्मण समुदायका छन् । विद्यालयका सञ्चालक समेत रहेका शिक्षक बालकृष्ण चेम्जोङ भन्छन्– ‘भावी पुस्तालाई लिम्बू समुदायको भाषा र लिपि नसिकाउँदा ती पुस्ताले पछि धिकार्ने हुँदा लिम्बू भाषाको पढाई हुन थालेको हो ।’ विद्यालयमा करिब ५० प्रतिशत मंगोलियन समुदायका विद्यार्थी अध्ययनरत् छन् । चेम्जोङले भने– ‘जसको बाहुल्यता जहाँ छ त्यहाँ त्यही भाषाको पढाई हुनुपर्छ ।’ करकापमा भन्दा पनि आवश्यकतालाई हेरेर विद्यालयमा लिम्बू भाषाको पढाई हुन थालेको उनले बताए ।

झापामा चार सयको हाराहारीमा संस्थागत विद्यालय छन् भने तीन सय ६५ को संख्यामा सामुदायिक विद्यालय छन् । तर, मातृभाषाको पढाई भने एकाध सामुदायिक विद्यालय बाहेक भएका छैनन् । स्थानीय अभिभावक भन्छन्– ‘वाहुन समुदायका सञ्चालक भएको निजि विद्यालयमा लिम्बू भाषाको पढाइले जात र भाषा दुवैको सद्भाव वढाएको छ ।’ हिमाल र पहाडी भेगका केही सामुदायिक विद्यालयमा मातृभाषामा पढाई हुने गरेको छ । तर, तराईका सामुदायिक विद्यालयमा मातृभाषामा पढाई कमै भएको जानकार बताउँछन् ।

शिवसताक्षीकै लिम्बू भाषाका जानकार नन्दराज योङहाङले भने– ‘नाफा कमाउने उद्देश्यले स्थापना भएको विद्यालयले लिम्बू भाषाको उत्थानका लागि विद्यालयमा अध्ययन अध्यापन गराउनुले जात र भाषामा एकआपसमा सद्भाव बढाएको छ ।’ उनका अनुसार सामुदायिक विद्यालयमा पनि मातृभाषामा पढाइ हुनुपर्छ । अर्जुनधारा नगरपालिकाका शिक्षा अधिकारी तोया रेग्मीले प्राथमिक तहमा मातृभाषाको पढाई विद्यार्थीको नैसर्गिक अधिकार भएको बताए । उनले भने– ‘लिम्बू मात्र होइन राई, तामाङ, मगर, गुरुङ, राजंवशी लगायतका भाषामा अध्ययन अध्यापन गर्न गराउन नेपाल सरकारले प्राथमिक तहमा अधिकार प्रत्यायोजन गरेको छ ।’

यता सामुदायिक विद्यालयले भने शिक्षक र विद्यार्थी अभावका कारण मातृभाषामा पढाई हुन नसकेको बताउँदै आएको छ । शिवसताक्षी नगरपालिकाको झिलझिले स्थीत झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक न्यौपानेले राज्यले मातृभाषा अध्ययन अध्यापन गर्ने नीति बनाए पनि योग्य शिक्षक नदिँदा मातृभाषामा पढाई हुन नसकेको बताए ।

झापाको मेचीनगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती प्राथमिक विद्यालयमा स्थानिय राजवंशी भाषामा पढाई हुने गरेको छ । सो विद्यालयमा ९९ प्रतिशत राजवंशी समुदायकै विद्यार्थी अध्ययनरत् छन् । विद्यालयले राजंवशी भाषाकै लागि छुट्टै व्यवस्था गरेको छैन । तर, सो समुदायका शिक्षक विद्यालयमा कार्यरत् रहेकाले सो भाषामा अध्ययन अध्यापन हुने गरेको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देवु बानियाँले बताए ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर