दमक।

झापाको दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । झापा देशकै सचेत जिल्ला, त्यसमा पनि दमक पनि कम मानिँदैन । तर, यही नगरमा बालबालिकाको जन्मदर्ता भने अत्यन्त न्यून भएको पाइएको छ ।

३७ प्रतिशतभन्दा बढी बालबालिकाहरु जन्मदर्ताविहीन रहेका छन् । दमक नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणले यस्तो खुलासा गरेको हो । पाँच वर्षमुनिका ६ हजार ५ सय ४ बालिबालिकाहरूमध्ये ४ हजार ४७ जना अर्थात् ६२.२ प्रतिशतको जन्मदर्ता भएको र २ हजार ४ सय ५६ अर्थात् ३७.८ प्रतिशतको जन्मदर्ता नगरिएको तथ्याङ्क रहेको उक्त सर्वेक्षणमा उल्लेख छ ।

जन्म, मृत्यु, बसाइँसराई र विवाह जस्ता जीवनका प्रमुख व्यक्तिगत घटनाको अनिवार्य र समयमै दर्ता गर्नु भनिए पनि यहाँ यस्तो भेटिएन । व्यक्तिगत घटना अन्तर्गत जन्मदर्ता नहुँदा नगरपालिकाले कार्यक्रम तयार पार्दा समेत यसको प्रभाव पर्ने बताइन्छ ।
जन्मदर्ताले स्थानीय सरकारलाई यकिन तथ्याङ्कको अभिलेख तयार पार्न सहयोग पुग्ने तथा नागरिकहरूले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाका लागि नागरिकको पहिचान कायम गर्न र अन्य कानूनी क्रियाकलापहरूमा सहयोग पुग्ने गर्छ ।

जन्मदर्तालाई समयमै अनिवार्य रूपमा गराउन प्रोत्साहन गर्ने कार्य स्थानीय सरकारले गरेपनि यसमा खासै चासो नदिएको पाइन्छ । जन्मदर्ता लगायत व्यक्तिगत घटना दर्ता नगरपालिकाले निःशुल्क गर्ने गरेको छ ।
नगरपालिकाले अस्पतालमा जन्म भएका बालबालिकाहरुको अस्पतालबाट नै अनलाइनमार्फत जन्मदर्ता गर्ने बताएपनि यो कार्यान्वयनमा आएको छैन । नगरपालिकाले यसका लागि तालिम समेत प्रदान गरेको बताइएको छ । दमक नगरपालिका आइटी शाखा प्रमुख समिप चुडालका अनुसार प्रसूति सेवा दिइरहेका दमकको आम्दा अस्पताल, लाइफलाइन अस्पताल र ओम मेची अस्पतालका प्रतिनिधिहरुलाई बच्चा जन्मेपछि तत्काल अनलाइन रजिष्ट्रेशनका लागि तालिम प्रदान गरिएको थियो ।
तर, अहिलेसम्म एउटा पनि रजिष्ट्रेशन नभएको उनले बताए । हामीले तालिम प्रदान गरेर सबै विधि र प्रक्रिया सिकाएका थियौं, तर उहाँहरुले वास्ता नै गर्दिनुभएन– चुडालले भने । अब यसलाइ कडाइ गर्ने भन्ने सुनेको छु तर भएको छैन– उनले भने । दमक नगरपालिका सामाजिक शाखा प्रमुख डम्बर बरालका अनुसार नगद प्रोत्साहन गर्दा समेत जन्मदर्ता गराउने क्रम न्यून नै रहेको पाइएको छ । हामीले दलित लगायतलाई प्रोत्साहन रकम पनि दिएका छौं, तर पनि सोचे जस्तो दर्ता भएको छैन– उनले भने ।
जन्मदर्ताको आवश्यकताको विषयमा बुझाउन नसकेका कारण यस्तो भएको हुनसक्छ– बरालले भने । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भएको बाल महोत्सवको उद्घाटनको क्रममा घरधुरी सर्वेक्षण गरेपनि यी सबै विषय भने सार्वजनिक भएका छैनन् ।

