झापा।

प्रहरीले नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)का कार्यकर्तालाई मंगलवार इलामको फाकफोकथुम–५ को आमचोकबाट पक्राउ गरेको छ ।

शहीद सप्ताहको पहिलो दिन शहीद परिवारका सदस्यलाई सम्मान गर्ने उद्देश्यले पार्टीले आयोजना गर्न लागेको सभाबाटै जिल्ला तहका नेता कार्यकर्तालाई पक्राउ गरेको सो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गणेश कार्कीले वताए ।
पार्टीको इलाम जिल्ला सदस्य बिमल बस्नेत, पार्टी सुदृढीकरण अभियानका इलाम सदस्य अमृत मगर, धनकुटाका बिक्रम राई, झापाका बाबा लिम्वू र ताप्लेजुङका केवी लिम्बू पक्राउ परेको सो पार्टीले जनाएको छ ।

प्रचण्ड र बावुरामले जनयुद्धका शहीद बिर्सिएको र बाम गठबन्धनको सरकारले जनयुद्धका क्रममा शहीद भएकाको दिवस नमनाउने भनेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी रुपमा जनयुद्धबाट शहादत प्राप्त गरेका शहीदको सम्मानमा साताव्यापी कार्यक्रम शनिवारदेखि शुरु गरेको हो । शहीद परिवारका सदस्यलाई सम्मान गर्ने हाम्रो शान्तिपूर्ण कार्यक्रम थियो तर, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यकर्ता पक्राउ गरेपछि इलामको कार्यक्रम बिथोलिएको पार्टीले जनाएको छ ।
नेपालमा जनयुद्ध शुरु भएपछि गोर्खाका दिलकुमार रम्तेल आजैका दिन राज्य पक्षबाट मारिएका थिए । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले जनयुद्धका पहिलो शहीद रम्तेल मारिएकैदिन बिस्तृत शान्ति सम्झौता पछि शहीद सप्ताह कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसैबीच सो पार्टीले प्रहरीले पक्राउ गरेको आफ्ना कार्यकर्तालाई निशर्त र अविलम्व रिहाई गर्न माग गरेको छ । शान्तिपूर्ण कार्यक्रम हुन लागेको वेला सर्वसाधारण नै आतंकित हुने गरी कार्यक्रम स्थलमा प्रवेश गरेर कार्यकर्ता पक्राउ गरेको घटना निन्दनीय रहेको सो पार्टीले जनाएको छ ।
पक्राउ परेका कार्यकर्ता रिहाई नगरे त्यसबाट आउन सक्ने खतराको जवाफदेही सरकार आफंै हुनुपर्ने पार्टीका बिद्यार्थी नेता तथा मेची अञ्चल व्युरो गणेश कार्कीले चेतावनी दिए ।

