हेटौंडा

मकवानपुरका उत्तरी क्षेत्रको विभिन्न स्थानमा बुधबार रातिदेखि परेको वर्षाको कारण भारी हिमपात भएको छ। लगातारको बर्षाका कारण उत्तरी मकवानपुरको थाहा नगरपालिकासहित छिमेकी भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको विभिन्न स्थानमा हिउँ परेको हो।

थाहानगरको विशेष गरी सिम्भञ्ज्याङ, दामन, पालुङ र चित्लाङ क्षेत्रमा यसवर्षमात्र पाँचपटक हिमपात भएको हो। हिमपातका कारण उत्तरी मकवानपुरको जनजीवन पूर्णरुपमा प्रभावित भएको थाहा नगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए।
उनकाअनुसार हिमपातका कारण त्रिभुवन राजपथ समेत अवरुद्ध भएको छ। त्रिभुवनराजपथको अवरोध तत्काल हट्ने सम्भावना नरहेको उनले बताए। उनका अनुसार विभिन्न स्थानमा दुईफिटभन्दा बढी हिउँ परेको छ। विशेषगरी अघोरदेखि पालुङसम्मको बाटोमा सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।


सवैभन्दा बढी हिउँ सिम्भज्याङस्थित मैत्री बगैंचामा परेको स्थानीय विनोद लामाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हिमपातका कारण त्रिभुवन राजपथ र भिमफेदी, फाखेल हुदै काठमाडौँ बाटो मार्ग समेत बन्द रहेको र खोल्ने प्रयास भइरहेको रहेको छ।
छोटो मार्ग भएर दैनिक एकहजार सवारी काठमाडौं आउजाउ गर्छन्। काठमाडौं आउजाउका लागि हेटौंडा–कुलेखानी–सिस्नेरीको बाटो प्रयोग भइरहेको छ। हेटौंडा उपमहानगरपालिकासँग सिमान जोडिएका डाडाँकाडामा समेत हिमपातको दृश्य सजिलै देख्न सकिन्छ।
मकवानपुरगढी गाउपालिकाका पाँच, छ र आठका आमभञ्ज्याङ पारिको छत्रेडाडाँमा हिमपात भएका स्थानीयले बताएका छन्। देउरालीलगायतका डाडाँ पाखाहरुमा बाक्लो हिउ परेको छ।
निरन्तर हिमपात भएसँगै जिल्ला भित्र र बहिरबाट हिउ खेल्न पर्यटकहरुको उक्त क्षेत्रमा जाने क्रम बढेको छ। हेटौंडा बजारक्षेत्रबाट गाडी रिजर्भ नै गरेर हिउँ खेल्न आन्तरिक पर्यटकहरु त्यसतर्फ गइरहेका छन्।

