Aamsanchar

लदी पुजामा विविध कार्यक्रम

Author Image
बुधवार, फागुन २२, २०७५

शान्तिराम बस्नेत / शिवसताक्षी,

प्रकृति पुजक माझी जातिको राष्ट्रिय चाड कोशी (लदी) पूजा विविध कार्यक्रमहरुका साथ मंगलबार सम्पन्न भएको छ ।

प्रत्येक वर्षको फाल्गुण महिनाको तेस्रो हप्ताको मंगलबारका दिन मनाइने उक्त पर्व सदा वर्ष झैं यसपालि पनि धार्मिक एवम् पर्यटकीय स्थल दोमुखास्थित कनकाई नदी किनारमा पानी जीवन हो, पानीको संरक्षण गरौं, पानी शक्तिको स्वरुप हो, पानीको पूजा गरौं भन्दै
भेला भएका माझी जाति समुदायहरुले बिहानैदेखि नुवाई धुवाई गरी शुद्ध भएर आफ्नो जातीय भेषभुषा र पहिरनमा आफ्नो क्षमता अनुसार कुखुरा, परेवा, खसी, वोकाको बली दिएर पूजा सम्पन्न गरेका हुन् ।

पुख्र्याैली पेशा डुङ्गा तार्ने र माछा मार्ने काम भएका सो जातिको मान्यता अनुसार नदीलाई खुसी पार्नसके वर्षायाममा आउने भेलबाढी, प्राकृतिक विपत्तिले समेत आफूहरुलाई सुरक्षित बनाउने विश्वास गर्दै आएको उनीहरु बताउँछन् ।

कार्यक्रममा माझी जातिलाई पनि राष्ट्रिय चाड कोशी (लदी) पूजामा सरकारले सार्वजनिक विदा नदिएकोमा माझी उत्थान संघका केन्द्रीय उपाध्यक्ष बीर बहादुर माझीले आक्रोश व्यक्त गरे । उनले माझी जाति देशको प्राचीन सभ्यता गहनाको रुपमा हेरेर सरकारले समान व्यवहार गर्नु पर्नेमा जोड दिए । त्यस्तै उनले अधिकांश माझी जातिहरुले आफ्नो पुख्र्याैली पेशा लोप हुन लागेको चिन्ता व्यक्त गर्दै पौराणिक कालदेखि खाँदै आएको मादक पदार्थले स्वास्थ्य प्रतिकूल असर पर्ने भएकाले त्यसको प्रयोग घटाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा माझी जातिको पहिचान, उत्थानका लागि सदैव क्रियाशील भएको भन्दै संघले सम्मान पत्र र दोसल्लाले तीनजनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा श्रीमान माझी, शेर बहादुर माझी र सरिता माझी रहेका छन् ।

त्यस्तै स्वागत गीत मार्फत गंगा बहादुर माझीले पौराणिक कुरालाई समावेश गर्दै माझी जातिहरुको रहनसहन, जाति, पेशा व्यवसाय आदिले प्रष्फुटन गरेको कार्यक्रममा आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष जगत बहादुर मगर, जिल्ला माझी उत्थान संघ, झापाका संयोजक सन्तलाल माझी, माझी उत्थान संघ, प्रदेश नं. १ की सदस्य सरिता माझी, सल्लाहकार सदस्य लोक बहादुर माझी लगायतको आतिथ्यता तथा वक्तव्य रहेको थियो । कार्यक्रममा प्रतिष्पर्धात्मक नृत्यहरु समेत समावेश भएका थिए ।

नेपाल माझी उत्थान संघ, झापाको आयोजना तथा नेपाल माझी युवा तथा विद्यार्थी उत्थान संघ, झापाको सह–आयोजनामा भएको
उक्त कार्यक्रमको अध्यक्षता माझी उत्थान संघका अध्यक्ष कृष्ण माझीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सृजना माझीले गरेकी थिइन् ।
कार्यक्रममा जिल्लाका दमक, लखनपुर, तोपगाछी, धरमपुर शिवसताक्षी, कनकाई, अर्जुनधारा, मेचीनगर लगायतका स्थानहरुबाट माझी जातिका मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

परापूर्व समयमा कोशी तथा त्यस नदीको आसपासका नदीहरुमा मात्र बसोबास गर्ने यी जातिहरु समयको क्रमसँगै बिभिन्न स्थानहरुमा बसोबास गर्दै आएका छन् । सिमान्तकृत जातिहरुमा रहेका माझीहरुको जनसंख्या २०६८ सालको जनगणना अनुसार ८३ हजार ७ सय २७ रहेको र झापामा मात्र माझीको जनसंख्या २४ हजार २ सय ५३ रहेको छ ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर