Aamsanchar

भद्रपुरमा मोटरसाइकल र साइकल चोरको बिगबिगी

Author Image
बुधवार, फागुन २२, २०७५

भद्रपुर।

भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगर क्षेत्रमा फेरि चोरको बिगबिगी भएको छ ।  वडा प्रहरी कार्यालय नगर क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन प्रयासरत हुदाँहुदै चोरीका घटना नरोकिएपछि प्रहरीलाई चुनौति थपिएको छ । भद्रपुरमा बजार क्षेत्रमा आइतबार एकैरात विभिन्न स्थानमा साइकल र मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ ।

चोरी घटना संलग्न समूहले एकैरात दुई वटा मोटरसाइकल र चार वटा साइकल विभिन्न घर, आँगनबाट चोरी गरेपछि प्रहरीलाई चुनौति थपिएको हो । चोरले भद्रपुर ५ र ६ का विभिन्न घरमा चोरी गरेको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । चोरी भएको दुई वटा मोटरसाइकलको बारेमा उजुरी परेसँगै प्रहरीले चौबीस घण्टा बित्न नपाउँदै दुवै मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारी सम्बन्धित धनीलाई बुझाइसकेको छ ।

प्रहरीका अनुसार भद्रपुर– ५ बसपार्क नजिकैबाट जाकिर हुसेनको मे ५ प १६४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भएको थियो । त्यस्तै भद्रपुर– ५ स्थित बैजुप्रसाद साहको मे १ प ७७९७ नम्बरको मोटरसाइकल पनि घरबाटै चोरी भएको प्रहरीले जनाएको छ । हुसेनको मोटरसाइकल बसपार्क दक्षिण ठन्डाबस्तीको झाडीमा र साहको मोटरसाइकल भद्रपुर– ४ स्थित डाँगीबारी नजिकै बेवारिसे अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यसैगरी शनिबार राति भद्रपुर– ६ निवासी अमरेश मल्लिकसहितका तीन घरबाट चारवटा साइकल समेत चोरी भएको छ । चोरी भएको साइकल अझै फेला परेको छैन । यस बिषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी भद्रपुर– ४ स्थित डाँगीबारी आसपासका घरआँगनबाट पशुपंक्षी पनि चोरी हुन थालेको छ ।

४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशीका अनुसार केही दिनयता गाउँघरमा भैंसी, कुखुरा, खसी, बाख्रा चोरी हुन थालेकोले कृषक चिन्तित बनेका छन् । पशुपंक्षी चोरी हुन थालेपछि प्रहरीले त्यसतर्फ पनि निगरानी बढाएको छ ।

साइकल चोर पक्राउ

साइकल चोरी गरेकोमा आरोपमा वडा प्रहरी कार्यालयले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर– ५ निवासी २१ बर्षीय फूल महोम्मद राजशेख रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार राजशेखलाई साइकलसहित पक्राउ गरिएको हो ।

राजशेखले एउटा साइकल चोरी गरी बसपार्क छेउकै एक घरमा लुकाएर राखेको र शनिबार बिहान लिन आएको बेला स्थानीयको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजशेख यसअघि पनि चोरी घटनाको आरोपमा पटक–पटक पक्राउ परिसकेका थिए । उनलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले दुईवटा साइकल समेत बरामद गरेको छ । प्रहरीमा उजुरी नपर्दा बरामद गरिएको साइकल कसको भन्ने अझै खुलेको छैन ।
सचेत रहने नगरबासीलाई प्रहरीको आग्रह

भद्रपुर नगर क्षेत्रमा चोरीका घटना बढनेसँगै सचेत रहन वडा प्रहरी कार्यालयले नगरबासी समक्ष आग्रह गरेको छ ।
घर खाली छाडेर कतै घुम्न गए छिमेकी वा प्रहरीलाई खबर गरेर जान प्रहरी निरीक्षक श्रेष्ठले आग्रह गरेका छन् । राति सुत्दा साइकल, मोटरसाइकल लगायत अन्य सामग्रीलाई सुरक्षित स्थानमा राख्नुका साथै कुनै अपरिचित व्यक्ति छरछिमेकमा देखापरे तत्काल प्रहरीलाई खबर गर्न उनले अनुरोध समेत गरेका छन् ।

‘प्रहरी नगरबासीको सुरक्षाका लागि चौबीसै घण्टा सेवामा जुटेको छ’ –प्रहरी निरीक्षक श्रेष्ठले भने– ‘त्यति गर्दागर्दै पनि चोरीका घटना हुन थालेको छ, सबुुत तथा प्रमाण फेला पर्न नसक्दा चोरी गर्ने गिरोह समक्ष पुग्न प्रहरीलाई चुनौति थपिएको छ ।’

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर