बुधवारे ।

मेचीनगरको पहिलो संस्कृत पाठशाला माधव सँस्कृत विद्याश्रम एवं माधवेश्वर शिव पाञ्चायतन मन्दिरमा कुनै समय ७०÷८० जना वटुकहरुले अध्ययन गर्थे । यहाँ मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा लगायत भारतको सिक्किमबाट समेत गुरुकुल शिक्षा लिन आउने गरेका थिए ।

तर राज्यले संस्कृत पाठशालालाई हेर्ने दृष्टिकोण कमजोर हुदाँ विद्याश्रमले गति लिन सकेन् । विस्तारै बटुकहरुको संख्या घट्दै गयो । वि.स. २००२ सालमा पाँचथरवाट सञ्चालनमा आएको गुरुकुल शिक्षा झापाको मेचीनगर नगरपालिका–१२ (साविक धाइजन–६) सहरेडाँगीमा २०३९ सालबाट निरन्तर सञ्चालनमा छ । वि.स.२०५५ सालमा प.माधवप्रसाद भण्डारीको परिवारले विधिवत् रुपमा ‘माधव संस्कृत विद्याश्रम’ नामाकरण गरि दर्ता गरेका थिए ।
अढाई कठ्ठा जमिनमा पटुकहरुलाई जम्मा गरि संस्कृत शिक्षा दिइदैं आएको थियो । गाउँमा हुने धार्मिक अनुष्ठान, सामाजिक दानविर, मुष्ठिदान, सामाजिक संघसस्था, स्थानीय निकाय, नेपाल महर्षि फाउण्डेसनको साथ र सहयोगमार्फत हालसम्म आइपुग्न सफल भएको हो । स्थानीय दानविरहरुकै सहयोगवाट पठनपाठनमा सहज हुने हेतुले करीव ५१ लख रुपैयाँको लागतमा दुई तले भवन निर्माण गरिएपनि पूर्वरुपमा पुरा भएको छैन् । हाल उत्त विद्याश्रममा ताप्लेजुङ,पाँचथर,इलाम, झापा र भारत सिक्किमका गरी ५५ जना बटुकले रुद्री, चण्डि र ब्याकरण अध्ययन गर्दै आएका छन् ।

विद्याश्रमको भौतिक संरचनाहरुको जिर्णोद्धार, गौशाला निर्माण, मन्दिर तथा विद्याश्रम घेरावारा र थप शिक्षक राखि विद्यार्थीहरुका लागि संस्कृत विषयसंगै, गणित, अग्रेजी र विज्ञान विषयसमेतको पठनपाठन गर्ने उद्धेश्यले चैत १ गतेदेखि १० गतेसम्म आनन्द रामायण धान्याञ्चल नवाह ज्ञान महायज्ञको आयोजना गर्ने तयारी गरेको मुल आयोजक समितिका अध्यक्ष डिल्लीराम भण्डारीले बताए ।
विद्याश्रम परिषरमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष तिलकप्रसाद गिरीले विद्याश्रमको स्तरोन्ती गर्न र संस्कृत भाषाको संरक्षणमा जोड दिन महायज्ञको आयोजना गरिएको जानकारी दिए । आचार्य छन्दुराम भण्डारीको प्रमुख वाचक तथा प.पुण्यप्रसाद रिजालको उपवाचकत्वमा आयोजना हुने महायज्ञमा ४ लाख बढी खर्च हुने र ५० लाख बढी वचत गर्ने लक्ष्य राखेको सञ्चार संयोजक रमेश भट्टराईले बताए ।
दुखले सञ्चालन हुदैं आएको विद्याश्रमलाई माथि उठाउन सवैमा आग्रह गरिएको छ । महायज्ञमा हरेक साँझ ख्याति प्राप्त कलाकारहरुबाट संगीतमय भजन किर्तन, कथा अनुसारको झाँकी प्रदर्शन रहने धार्मिक अनुष्ठानको यथेष्ट लाभ लिई तन,मन,धन, बचन र कर्मले संस्थालाई सहयोग पु¥याइदिन आयोजकले सवैमा अनुरोध समेत गरेको छ ।

