बिर्तामोड ।


दुई करोड ५५ लाख रुपैंयाको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन बन्ने भएको छ ।
बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।
भवनको शिलान्यास प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फागुन ३० गते गर्ने कार्यक्रम रहेको आज मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । भवन भूकम्प प्रतिरोधात्मक तीन तलाको बन्ने प्रहरी निरीक्षक राईले बताउनुभयो ।

समुदाय–प्रहरी साझेदारी अन्र्तगत सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत प्रदेश ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल, १० थान ब्रेथलाइजर, व्लहील लक १० थान र ७ सय थान चालक र परिचालकलाई पोशाक वितरण गरिने कार्यक्रम समेत रहेको सडक दुर्घटना न्यूनिकरण महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
अभियानले ट्राफिक प्रहरीलाई ३५ लाख मुल्य बराबरका सामग्री हन्तान्तरण गर्ने जनाइएको छ । सोही अवसरमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने अभियान प्रदेश–१का १४ वटै जिल्लामा सञ्चालन गरिने एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश गौतमले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–झापामा प्रहरी महानिरीक्षकले उद्घाटन गर्नुहुन्छ यो अभियान प्रदेश १ का सबै जिल्लामा एकै साथ सञ्चालन हुन्छ ।

