Aamsanchar

अटो ल्याण्ड पार्क कागजमै सीमित

Author Image
सोमवार, वैशाख १६, २०७६

बिर्तामोड । अघिल्लो आर्थिक बर्ष बिर्तामोड नगरपालिकाले वुट्टावारी पूर्र्वको क्षेत्रलाई अटो ल्याण्ड पार्क बनाउने घोषणा गरेको थियो ।

चारपाने दक्षिणको क्षेत्रलाई पनि नगरपालिकाले नगरसभाबाट अघिल्लो आर्थिक वर्ष नै औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । तर, चालू आर्थिक वर्ष बित्न लाग्दा समेत बुट्टावारी पूर्वमा न अटो ल्याण्ड पार्क बन्यो न त चारपाने दक्षिणलाई औद्योगिक क्षेत्र बनाइयो ।

बिर्तामोड नगरपालिका–६ वुट्टावारी पूर्व अटोल्याण्ड पार्क बनाउने भन्दै बिर्तामोड नगरपालिकाले नगरमा सञ्चालित केही ग्यारेजलाई २०७४मा पत्राचार समेत गरेको थियो । फागुन मसान्तभित्र उक्त स्थानमा आ–आफ्ना ग्यारेज सारिसक्न भन्दै नगरलेपालिकाले व्यवसायीलाई पत्राचार गरे पनि त्यसलाई कडाइका साथ कार्यान्वयन नगर्दा अझै पनि नगरको घोषणा घोषणामै सीमित छ । नगरले २०७४ फागुन २० गते व्यवसायीलाई पत्राचार गर्दै फागुन मसान्तभित्रै आफ्नो व्यवसाय स्थानान्तरण गर्न भनेको थियो । यदि निर्धारित समयमा आ–आफ्नो व्यवसाय स्थानान्तरण नगरिए नगरपालिकाको नियम अनुसार कारवाही हुने भने पनि आफ्नो निर्णय नगरपालिकाले आफैं कार्यान्वयन गर्न सकेको छैन ।

झापामा अव्यवस्थित रहेका ग्यारेजलाई व्यवस्थित गर्दै नगरलाई सुन्दर बनाउने अघिल्लो आर्थिक वर्षको नगरसभाबाटै योजना पारित गरेपनि कार्यान्वयनमा नहुँदा झापाको बिर्तामोड क्षेत्रमा अव्यवस्थित ग्यारेज सञ्चालनमा रहेको अटो मेकानिक टे«ड युनियनका पूर्व केन्द्रीय सदस्य धनपति सत्यालले बताए । उनले भने– ‘नगरको कस्तो निर्णय, आफ्नो निर्णय आफै कार्यान्वयन गराउन सक्दैन ?’

झापाको बिर्तामोड क्षेत्रमा मात्रै झण्डै दुई सय ग्यारेजहरु सञ्चालनमा रहेको बताइन्छ । अधिकांश ग्यारेजमा भारतीय नागरिक मजदुरको रुपमा कार्यरत रहेको मेची अटो मेकानिक व्यवसायी संघका कोषाध्यक्ष भीमप्रसाद बास्तोलाले बताए । उनले भने– नगरपालिकाले अटो मेकानिकको क्षेत्रलाई व्यवस्थित गर्दै मेकानिकलाई समेत तालिम प्रदान गर्न सके यो क्षेत्रको अझ विकास भएर जाने थियो ।

ग्यारेजहरु अब्यवस्थित भएकै कारण बिर्तामोडमा डेङ्गू रोग फैलिएको भन्दै गतवर्ष नै जिल्ला जनस्वास्थ्यले समेत ग्यारेजलाई व्यवस्थित गर्न निर्देशन दिएको थियो । टायरमा जमेको पानीमा लामखुट्टेले फूल पार्ने र लार्भाको विकास हुने जनस्वास्थ्यले रिपोर्ट नै सार्वजनिक गरेको थियो ।

बिर्तामोडमा रहेका अव्यवस्थित ग्यारेजहरु व्यवस्थित भए नगर सफा हुने, नगरव्यवस्थित गर्न सहयोग पुग्ने, दुर्घटना न्यूनीकरणमा कमी हुने, चोरी डकैती कमी हुने सत्यालले बताए । बिर्तामोडमा रहेका अधिकांश ग्यारेज बिना दर्ता सञ्चालनमा रहेको, वातावरणीय परीक्षण मूल्याङ्कन बिना नै सञ्चालन भएको र श्रमिकको बिमा समेत नगरिएको बताइन्छ । बिर्तामोड क्षेत्रमा रहेका ग्यारेजमा झण्डै ५ सयको हाराहारीमा भारतीय नागरिक कार्यरत रहेको बताइएको छ ।

ब्रेकका लागि निर्णय कार्यान्वयन गराउन माग गर्दै ज्ञापन
बिर्तामोड नगरपालिकाले आफैंले गरेको निर्णय कार्यान्व्यन नगरेको भन्दै अटो वर्कशप मजदुरहरुले ज्ञापन–पत्र बुझाएका छन् ।

बिर्तामोडको शहरी क्षेत्रमा सञ्चालनमा रहेका अटो वर्कशपलाई बुट्टाबारी पूर्व स्थानान्तरण गर्न भन्दै नगरपालिकाले पत्र पठाएको थियो । अटो भिलेज बनाउने भएपछि बिर्तामोडका सञ्चालनमा रहेका सयौं अटो वर्कशपहरु त्यस क्षेत्रमा सरेका थिए । तर, आफूहरुलाई विस्थापित गरे पनि अटेर गर्नेहरुको विषयमा कुनै कारबाही गर्न नसकेको भन्दै निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै उनीहरुले आइतबार बिर्तामोड नगपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई)लाई ज्ञापन पत्र बुझाए ।

शहर क्षेत्रमा रहेका अटो वर्कशपको दर्ता गर्न लागेको भन्दै मजदुरहरुले आफूहरुलाई अन्यत्र सार्ने तर अरुलाई केही नगर्ने नगरपालिकाको कार्यप्रति मजदुरहरुले आपत्ति जनाएका छन् । निर्णय कार्यान्वयन नगरेमा आफूहरु पूर्ववत् क्षेत्रमा फर्किने र त्यसको क्षतिपूर्ति नगरपालिकाले दिनुपर्ने माग गरेका छन् ।

अटो वर्कशप दर्ता नगरी सञ्चालनमा रहेको भन्दै उनीहरुले तत्काल अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेका अटो वर्कशपलाई बन्द गर्न माग गरे । नगरलाई स्मार्ट सिटी बनाउन र सबै अटो वर्कशपलाई एकैस्थानमा सञ्चालन गरेर अटो भिलेज बनाउने निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै ४५भन्दा बढी अटोवर्कशप मजदुरहरुले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले संघर्ष समिति नै बनाएर निर्णय कार्यान्वयन गर्न दबाब दिने बताएका छन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगरलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर विकास गर्ने बताउँदै आए पनि ठोस् रुपमा कुनै पनि काम अघि बढाउन नसकेको स्थानीयले आरोप लगाएका छन् ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले शहरी क्षेत्रमा सञ्चालनमा रहेका अटोवर्कशपलाई एकै स्थानमा सार्नुपर्ने बताए । उनले भने– शहरी क्षेत्रमा रहेका ग्यारेजहरुले शहरको सौन्र्दय मात्र बिगार्दैन यसले फोहोर समेत बनाइरहेको छ ।

उनले सडक किनारमा सञ्चालनमा रहेका ग्यारेजहरुमा गाडी पार्किङ गर्ने गरिएका कारण पनि ट्राफिक ब्यवस्थापनमा समस्या उत्पन्न हुने बताए । नगरपालिकाले निर्णय गरिसकेको भए तत्काल कार्यान्व्यन गरेमा बिर्तामोडलाई स्मार्ट सिटी बनाउन सकिने अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर