बिनोद पाण्डे/आमसंचार
हिन्दुहरुको बनारस, ईस्लामहरुको मक्कामदिना, ईसाईहरुको ईजरायलको जेरुसलम, बुद्धिष्ट हरुको लुम्बिनी जस्तै सबै धर्मको आआफ्नै एक महत्वपूर्ण ठाउँ हुन्छ त्यस्तै इलाम जिल्लाको माङसेवुङ गाउँपालिका वडा नं. ५ मा रहेको लारुम्बा किरात धर्मको उत्पती, सबैभन्दा ठुलो धार्मिक स्थल हो ।
यस गाउँमा २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा आएर बसेपछि लारुम्बा धार्मिकस्थलको रूपमा विकास भएको हो । आत्मानन्द फाल्गुनन्दका जेठा दाजुको जेठा छोराका छोरा हुन् । अहिले किराँत समुदायको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बालाई उनैले विकास गर्दे लादैछन ।
लारुम्बामा मांशाहारी खाना निषेध गरिएको छ । पछिल्लो समययता यस स्थानलाई शाकाहारी गाउँको नामले पनि चिनिन्छ। त्यस्तै यहाँ कसैले पनि धूम्रपान, मध्यपान गर्दैनन् । २०६६ सालदेखि यस स्थान लाई सहाकारी क्षेत्र घोषणा गरिएको हो। त्यसमा स्थानिय सबैको एकता रहेको छ,केही अपवात बाहेक ।
समाजमा नराम्रा वस्तुको प्रयोग बन्द गर्नका लागि धार्मिक आचार संहिता निर्माण गरिएको छ । आचार संहितामा हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी चेलीको रुपौली, सुनौली नखाने, झुट नबोल्ने, चोरी सिकार नगर्ने लगायत कुराछन् ।
किराँत धर्मगुरु फाल्गुनन्दको ’सत्यहाङमा’को अनुशरण गर्दै जाँदा गाउँ यस्तो बनेको स्थानीय बताउँछन् । १९४२ सालमा इलामको इभाङमा जन्मिएका फाल्गुनन्दले किरातीलाई सत्मार्गमा ल्याउनका लागि सत्यहाङमाको धारणा अघि सारेका थिए । किरात समुदायमा रहेको विसंगति, विकृति हटाउन फाल्गुनन्दले बनाएको आचारसंहितालाई सत्यहाङमा भनिन्छ । उनले १९८८ सालमा तत्कालीन दश लिम्बुवानका अगुवालाई भेला गरेर पाँचथरको लब्रेकुटीमा सत्यहाङमा मुचुल्का बनाएका थिए । लारुम्बा लगायत देश भरीमा अहिले १८ लाख भन्दा धेरैले फाल्गुनन्दको सत्यहाङमा अनुशरण गरिसकेको यस धार्मिकक्षेत्र व्यवस्थापन समिति अध्यक्ष केहेरसिंह योङहाङ बताउछन ।
लिम्बूहरूको बाक्लो बस्ती भएको लारुम्बामा राई, मगर गुरुङ, नेवार, दलित र ब्राह्मण समुदायको पनि बसोबास छ । त्यहाँका किरातीले अहिले आत्मनन्द लिङदेनलाई धर्मगुरुका रूपमा मानेका छन् । बिक्रम सम्बत २०३५ साल देखि माङ्हिमको रुपमा रहेको लारुम्बा किरात जातिको लागि मात्र नभएर राष्ट्रको लागि नै महत्वपूर्ण धार्मिक र पर्यटकिय क्षेत्र बन्दै गएको छ ।
किरात धर्म गुरु आत्मनन्द लिङ्देन र गुरुमा पवित्रहाङ्मा सावा लिङ्देनको आश्रम रहेको सो स्थलमा हरेक बर्ष कार्तिक २५ मङ्सिर १८ र माघ ५ गतेका दिनहरुमा विशेष गरेर नेपाल, भुटान, भारत, बर्मा, लगायतका मुलुकहरुबाट लाखौको सख्यामा किरात धर्मलम्बिहरु आउने गर्दछन। ति दिनहरुमा किरात परम्परा अनुसार धार्मिक भूवली, न्वागी, उभौली, उधौलीजस्ता सबै किरात बर्षहरु मनाईन्छ, तर बली भोग विना । धार्मिक स्थल लारुम्बा पुग्ने धर्मलम्बिहरु त्यहाँ रहेको माङहिममा तन मन बचनले भक्ती गर्दछ्न। बिहान उठेर स्नान गरी पवित्र भएर सेतो बस्त्र लगाइ पूजा आजा गरिन्छ । फलार मात्र खाएर दिनभर पूजा आजा गरी १०८ दिप प्रज्वलन गर्नाले चिताएको पुग्ने जनबिश्वास रहिआएको छ । यस स्थानमा नेपालका पूर्व प्रधानमन्त्रीहरु स्व. गिरिजाप्रसाद कोईराला, स्व. सूर्यबहादुर थापा, वर्तमान प्रधानमन्त्री केपी शर्माओली, तत्कालिन राजा ज्ञानेन्द्र शाह लगायत सबै विशिष्ट व्यक्तीहरु माङसेबुङ पुगी सकेकाछन । त्यहाँ पूजाआजा गर्ने भक्तजनहरुले फुल, नैबेध, बस्त्र, भेटी , आदिको मात्रा प्रयोग गर्दछन ।
त्यहाँ रहेको माङ्हिममा भगवान शिव र पार्वती बिराजमान रहेका छन । वरिपरी पहाडले घेरिएको र तलतिर तराइका हरियाली फाटहरु द्रिश्यालोकन गर्न सकिने लारुम्बा ईलामका पर्यटकियस्थलहरु मान्मालुङ्, मिक्लाजुङ, रबिबजार, चुलाचुली जस्तास्थलहरुको साथमा रहेको लारुम्बा पर्यटकको लागि पनि महत्वपूर्ण स्थल बनेको छ।लारुम्बा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउनको लागि त्यहाँ हर प्रयास जारी रहेको छ, फलस्वरुप सो स्थलमा ५ किलोमिटर माङ्सेबुङ रिङ्गरोड निर्माणगरिदैछ भनेमाङ्सेबुङको गुरु योजना बनाई ३ अरबको डिपिआर बनाई सकिएकोे छ ।
किरात हाङसामा मुजोलुङ माङ्हिम अन्तर्गत रहेको धार्मिकस्थल आजभोलि आश्रय स्थलको रुपमा रहेको छ। देशमा भएकोे१० बर्षे संक्रमण कालका बेला यस स्थानमा धेरै पीडित किरातिहरुको बसोबास बढेको हुदाँ यस स्थलको जनसख्यामा र बस्तिमा समेत बिकास भएको छ । पूर्वाञ्चलाका बिभिन्न जिल्लाहरूबाट बिस्थापित भई गुरु आश्रमा आएपुगेका बिस्थापित हरुलाई माङ्हिमले अस्थायीरुपमा निशुल्क घर जग्गा उपलब्ध गराएको थियो । सो धार्मिकस्थलमा किरातिहरुको धर्म, लिपी, जजमान, जस्ता बिषयमा पढाई समेत हुने भएकोले कर्मकाण्ड पढ्ने विद्यार्थीहरु समेत यहाँ रहेका छन ।
गुरु आत्मानन्दको आश्रम स्थलमा जानुभन्दा पहिले बाटैमा अनुमती लिनु पर्ने र कुकुरदेखि सावधान उल्लेख गरिएको बोर्डका कारण त्यहाँ पुग्ने मानिसमा एक किसिमको खिन्नता उत्पन्न हुन्छ । तर सुरक्षाको दृष्टीले यस्तो गर्नु परेको स्वंमसेवकहरु बताउछन, पहिले दैनिक रुपमा गुरुसंग प्रत्यक्ष भेट दर्शन हुने गरेता पनि एतिखेर भने हप्ताको एक दिन आईतबार मात्र गुरु दर्शन हुने गरेकोछ ।
लारुम्बा पुग्नको लागि झापाको दमक हुदै करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर पुग्न सकिन्छ । रतुवाखोला हुँदै घर्ती दोभानबाट उकालो लाग्दा निकै कष्ट पूर्ण यात्रा अनुभव हुन्छ।तर अहिले धमाधन बाटो स्तरउनन्ती गर्नेकाम भईरहेको छ । धार्मिक स्थल माङसेबुङ पुगिसकेपछि साँच्चै आनन्द महसुस हुन्छ,पूर्वको कन्याम, भेडेटार जस्तै मौषम रहने गर्छ माङसेवुङमा । झापाको बिर्तामोडबाट खुदुनावारी, दानाबारी,महमाई हुँदै करिव ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ। मेची राजमार्गको बैकल्पिक मार्ग प्रयोग गरी बर्खाको ४ महिना बाहेक अन्य समयमा साना तथा ठुला सवारी साधान धार्मिकस्थल सम्म पुर्याउन सकिन्छ ।