Aamsanchar

दुर्घममा डाक्टर अनिवार्य जानुपर्ने व्यवस्था ल्याउन जनार्दन शर्माको जोड

Author Image
शुक्रवार, साउन १०, २०७६

काठमाडौं ।

नेकपाका नेता एवं सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा अनिवार्य डाक्टर जानुपर्ने कुरा कानुनै व्यवस्था गर्न सुझाव दिएका छन् । शुक्रबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा भएको संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले सो सुझाव पेश गरेका हुन् ।

विधेयकको दफा १ सय ७ मा रहेको नेपाल स्वास्थ्य सेवामा स्तर बृद्धि सम्बन्धी व्यवस्था बारेको छलफलका क्रममा उनले कर्णाली लगायतका क्षेत्रमा अनिवार्य रुपमा डाक्टर जाने कुरा समेट्न ऐनमा एउटा छुट्टै दफा बनाएर जानुपर्ने बताए । उनले भने– ‘नेपालको कुनै भूगोलमा बस्ने जनताले डाक्टरको स्वास्थ्य सेवा नपाउने भन्ने हुँदैन । कर्णाली लगायतका क्षेत्रका अस्पतालमा अनिवार्य चिकित्सक जानुपर्ने कुनै दफामै लेख्नुप¥यो ।’
शर्माको सो प्रस्तावको समर्थन गर्दै सांसद यशोदा सुवेदीले यस्तो प्रावधान नराखे दुर्गममा डाक्टर नजाने भन्दै बढुवाका लागि दुर्गममा डाक्टर जानुपर्ने व्यवस्था गर्न आग्रह गरिन् ।

यस्तै सांसद छक्कबहादुर लामाले पनि सो प्रस्तावको समर्थन गर्दै भने– ‘कर्णालीलाई डाक्टरहरुको दर्शन गराउनैपर्छ । म पनि उहाँहरुको कुराको समर्थन गर्छु ।’ यसबारेमा जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सांसदहरुले उठाएको विषय सम्बोधन गर्ने भन्दै विकटमा काम गर्ने र सुगमका काम गर्नेको फरक फरक नम्बरिङ गरेर बढुवाको व्यवस्था गर्ने बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालयसँग कुरा गरेर स्पष्ट हुन खोजिरहेको पनि बताए ।

उनले प्रदेशका लागि प्रदेश सरकारले नै स्थायी र अस्थायी दरबन्दी सिर्जना गरेर कर्मचारीको व्यवस्था गर्ने अवस्थामा यस्तो समस्याको समाधान हुने उल्लेख गरे । उनले यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने तथा संघ, प्रदेशअनुसार देशभर चिकित्सक खटाउनका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सक तयारी अवस्थामा राखेको पनि बताए ।

सांसद छक्कबहादुर लामाले राम्रा डाक्टर विकट क्षेत्रमा नजाने भन्दै दुर्गममा जाने डाक्टरका लागि बढी सुविधाको व्यवस्था गर्नुपर्ने बताए । उनले भने– ‘दुर्गममा जाने डाक्टरहरुलाई या त सुविधा वढी दिनुप¥यो, या बढुवाको व्यवस्था गर्नुप¥यो ।’

बिधेयकको दफा ११० को उपदफा १ र २ मा रहेको बढुवा सम्बन्धी व्यवस्था संशोधन गरी बढुवाका लागि क वा ख नाम दिइएको दुर्गम भौगोलिक क्षेत्रमा कम्तिमा ३ वर्ष सेवा गरेको हुनुपर्ने र सुगमका बस्ने चिकित्सकको १० बर्ष सेवा गरेपछि बढुवा हुने व्यवस्था राख्न पनि सांसदहरु सहमत भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)