Aamsanchar

बिरामी भेट्न अस्पताल जाँदा ध्यान दिनुपर्ने १० कुरा

Author Image
आइतवार, साउन २६, २०७६

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इस्टमित्र वा साथीभाइ भेट्न जाने मन जसलाई पनि हुन्छ।  अस्पतालहरुमा बिरामी भेट्न जानेको भीड नै देखिन्छ। आफ्नो मान्छे बिरामी भएर अस्पताल भर्ना भएका बेला भेट्न जानु स्वभाविक पनि हो।

तर, अस्पतालमा बिरामी भेट्न जानेहरुले कहिल्यै बिर्सन हुने कुरा के हो भने, अस्पताल रोग निवारण गर्ने संस्थाको साथसाथै विभिन्न रोगको संक्रमण हुनसक्ने स्थान पनि हो। त्यसकारण बिरामीलाई स्वास्थ्य लाभको कामना गर्न अस्पताल जाने व्यक्तिहरुले यी १० कुरामा ध्यान दिनु जरुरी छ।

१. रुघा खोकी, इन्फ्लुएन्जा, झाडापखाला, दादुरा जस्ता सरुवा रोग लगेका व्यक्तिहरु बिरामी भेट्न जान हुँदैन।

२. बालबालिकालाई अति जरुरी बाहेक अरु अवस्थामा अस्पतालमा लैजानु हुँदैन। प्रायः अस्पतालले १२ वर्ष मुनिका बालबालिकालाई अस्पताल ल्याउन रोक लगाएका हुन्छन्। किनभने बालबालिकाको रोगसँग लड्नसक्ने शक्ति कम हुन्छ।

३. साबुन–पानीले राम्रोसँग हात धोएर वा ह्यान्डस्यानिटाइजरले हात सफा गरेर मात्र बिरामी भेट्न जानुपर्छ। बिरामीलाई छोइसकेपछि र बिरामी भेटेर फर्किंदा पनि हात पुन राम्रोसँग सफा गर्नुपर्छ। अन्यथा बिरामी भेट्न जाने व्यक्तिका हातका किटाणुहरु बिरामीलाई पनि सर्नसक्छ र बिरामीको रोग आफन्तलाई सर्नसक्छ। 

४. बिरामी भेट्न जाने बिरामीका आफन्तहरु शय्यामा बस्नु हुँदैन। सरुवा रोगका लक्षणहरु नभए पनि किटाणुहरु हाम्रो शरीरमा हुनसक्छन र ती बिरामीलाई सर्न सक्छन्। साथै बिरामीको शय्यामा पनि धेरै किटाणु हुन सक्छन् र हामीलाई सर्नसक्छ।

५. अस्पतालमा धेरैथरी रोगको उपचारका लागि मानिसहरु आउने हुँदा धेरै रोगको संक्रमण हुनसक्छ। त्यसैले बिरामी भेट्न आउँदा सकेसम्म छोटो भेटघाट गर्नुपर्छ।

६. हरेक अस्पतालको आफ्नै फोहोरमैला व्यवस्थापान गर्ने प्रणाली हुन्छ। प्रायः अस्पतालमा कुहिने फोहोर र नकुहिने फोहोर, संक्रमित फोहोर, सिसा आदि फाल्ने रंगीचंगी छुट्टाछुट्टै डस्टबिनको व्यवस्था गरिएको हुन्छ। अस्पतालको नियम अनुसार फोहोरमैला फाल्नु जिम्मेवार नागरिकको कर्तव्य हो। कुन फोहोर, कुन डस्टबिनमा फाल्ने थाहा नभएका बिरामीका आफन्तले ड्युटीमा रहेका परिचारिका (नर्स) लाई सोध्नुपर्छ।

७. हरेक अस्पातालले बिरामी भेट्ने निश्चित समय तोकेको हुन्छ। बिरामी भेट्न आउनुअघि सोको जानकारी लिनुपर्छ। कहिलेकाहीं बिरामीलाई सरुवा रोग जस्तैः टिबी, इन्फ्लुएन्जा, धेरै एन्टिबायोटिक औषधिहरुले मार्न नसक्ने किटाणुको संक्रमण भएको अवस्थामा बिरामीलाई छुट्टै कोठामा (आइसोलेसन रूम) मा पनि राखिएको हुनसक्छ। त्यस अवस्थामा बिरामी भेट्न नाआउँदा राम्रो हुन्छ। बिरामी पूर्ण रुपले सन्चो भएपछि मात्र भेट्न जँदा उचित हुन्छ।

८. बिरामीको कोठा अगाडि कुनै सूचना अथवा कुनै चिह्न राखिएको छ भने ड्युटीमा रहेकी परिचारिकासँग बुझेर मात्र बिरामी भेट्न जानुपर्छ। सूचनामा उल्लेख गरेअनुसार पालना गर्नुपर्छ। प्रायः अस्पातालमा आइसियु, ओटी, आइसोलेसन रूममा जाँदा मास्क, गाउन लगाउनुपर्ने ,जुत्ता फुकाल्नुपर्ने नियम हुन्छ।

९. बिरामीलाई फूलको गुच्छा भन्दा अरु नै उपहार जस्तःै पुस्तक, पत्रिका आदि लगिदिँदा राम्रो हुन्छ। किनभने फूलमा किटाणुहरु रहनसक्ने हुँदा सक्रमण फैलन सक्छ।

१०. यदि तपाईं क्यान्सर बिरामी जसको रोगसँग लड्नसक्ने शक्ति कम छ, त्यस्ता बिरामीलाई भेट्न जाँदै हुनुहुन्छ भने फलफूल र नपकाएको खानेकुरा लैजानुु हुँदैन। खानेकुरा घरैमा तयार गरेर लाग्दै हुन्नुहुन्छ भने बिरामीले खान हुने र नहुने कुराको जानकारी लिएर मात्र लग्नु होला। उचित पौष्टिक आहारयुक्त खानाले पनि बिरामीको रोग निको पार्न ठूलो भूमिका खेल्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर