Aamsanchar

देवी माविले सिकायो पुराना पुस्ताको सीप 

Author Image
शुक्रवार, साउन ३१, २०७६

बिर्तामोड, साउन ३१ । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको भन्दै बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ ।
पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा संस्कृति हराउँदै गएपछि बिर्तामोडको देवी माविले विद्यालय प्रांगणमा भव्य कार्यक्रम गरेर सीप जोगाउने प्रयत्न गरेको हो । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार यो कार्यक्रम पहिलेका पुस्ताले पछिल्लो पुस्तामा सीप हस्तान्तरण्न गर्ने अवसर हो । ‘पुराना संस्कार र संस्कृति जोगाएर राख्नुपर्ने रहेछ भन्ने कुरा यो कार्यक्रमबाट विद्यार्थीले सिक्नेछन्’, श्रेष्ठले भनिन्, ‘यो पनि पढाइ र सिकाइको एउटा माध्यम हो ।’
प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा मुकुन्दकुमारी घिमिरेको आमा समूहले संगिनी प्रस्तुत गरेको थियो । त्यस्तै, देवीप्रसाद मैनालीको समूहले कविता वाचनसँगै खाँडो जगाएको थियो भने तेजप्रसाद बरालको समूहले बालन गाएको थियो ।

कार्यक्रममा अभिचन्द्र पोखरेलले काठे ठेकीमा मोही पारेर देखाएका थिए भने कुलप्रसाद पौडेलले डोको बुन्ने कार्य, यशोदा अधिकारीले टपरी गाँस्ने र बात्ती कात्ने, धनमाया थापाले पिरा बुन्ने, माया सापकोटाले ओखलमा पिठो कुट्ने, मुना श्रेष्ठले जाँतोमा मकै पिस्ने र धनबहादुर पोखरेलले ढेलामा डोरी बाँट्ने कार्यको प्रस्तुति दिएका थिए ।
सञ्चारकर्मी धनपति भट्टराई र ९७ वर्षीया पवित्राकुमारी घिमिरेले श्लोक प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रगति फूलबारी कीर्तन मण्डलीले भजन गएको थियो भने सञ्जु तामाङको समूहले तामाङ घेदुङ नाच, नेवाः देय् दवु बिर्तामोडले लाखे नाच प्रस्तुत गरेका थिए । शिक्षक धनबहादुर पोखरेलले ‘हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला’ बोलको गीत गाएका थिए ।

धान नाच र चण्डी नाच समेत प्रस्तुत गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कार्कीले नयाँ पुस्तामा पुरानो पुस्ताको दैनिक जीवनका सीप र संस्कार हस्तान्तरणका लागि कार्यक्रम महत्वपूर्ण रहेको जिकिर गरे । उनले यस्ता खाले कार्यक्रमले आधुनिक परिवेशमा हुर्किएका पछिल्लो पुस्ताले आफ्ना पुर्खा र अभिभावकले गर्दै आएको कामको सिको गर्न मद्दत पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद तथा ज्येष्ठ नागरिक संघ झापाका वरिष्ठ उपाध्यक्ष तारासम योङ्या, बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख जयप्रसाद महत, बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, ज्येष्ठ नागरिक संघ बिर्तामोडका अध्यक्ष कुलप्रसाद संग्रौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर