काठमाडौं । नेपाल भारत खुल्ला सिमाना अन्य अवस्थामा दुई देशकै लागि फाईदाको सहजता बन्ने गरेतापनि महामारी फैलिएको अवस्थामा खुल्ला सिमाना दुई पक्षको लागि समस्याको कारक बन्न सक्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे भोलि निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट आउजाउ रोकिएको छैन । हवाई मार्गबाट औसत दैनिक १५० र २०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् । तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ ।
तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ ।
साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ । पछिल्लो समय भारतमा कोरोना संक्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा कडाइ गर्नेबारे छलफल थालेको हो । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतले बताएको छ ।