सदाझैं आज पनि विहान उठेर पानी, चिया पिएपछि दिन कटाउन मनमा के गरौं के गरौं भन्ने कुरा खेल्न थालेको थियो । नेपाल फोटोपत्रकार महासंघ झापा अध्यक्ष एवं मित्र विनोद पाण्डेले ‘फोटो पत्रकार भएर पनि लकडाउन जस्तो समयको केही फोटो नपस्किने ?’ भनेर गरेको प्रश्न मनमा आयो ।
त्यसैले क्यामेरा बोकेर निस्किएँ बाइकमा । विर्तामोड बसपार्कबाट पूर्व हुइकिँदा विहानको ७.४५ भएको थियो । सडकमा एक–दुई वटा फाट्टफुट्ट अति आवश्यक सवारी साधनबाहेक केही गुडेका थिएनन् । विहानको समय कति रमाइलो ! यसभन्दा अघि यो राजमार्गमा कति कुदेंकुदें ! तर यसभन्दा अघि यति स्वच्छ र यति आनन्दको कहिल्यै वोध गरेको थिइनँ । टक्क रोकिएँ र क्यामेरा निकालेर सडक बिचमा गुड्दै गरेको एक साइकलयात्रीको फोटो खिचें । अगाडि बढ्दै जाँदा चारआली जङ्गल पुगेको पत्तै पाइनँ ।
हराभरा जङ्गल, बाटाभरि चराचुरुङ्गी, लाग्थ्यो उनीहरु सम्झिरहेका थिए, ‘आज यो बाटो हाम्रै हो’ । यसभन्दा अघि मैले कहिल्यै ढुक्कुर, वनकुखुरा, किङफिसर, बकुल्ला लगायतका चराहरु निर्धक्क राजमार्गमा आनन्दले बसेर चरेको देखेको थिइनँ ।
गाडि बढ्दै फोटो खिच्तै चारआली, धुलाबारी हुँदै काँकरभिट्टा पुगें । सबैतिर उस्तै थियो वातावरण । मानिसहरु आ–आफ्ना घरभित्र थिए, तर पशुपङ्छीहरु निर्धक्कसँग घुम्ने, प्रकृतिसँग रमाउने गरिरहेका थिए । लकडाउनले गर्दा होला कतै धुवाँधुलो थिएन । गाडीघोडाको गाइँगुइँ थिएन । कुनै मनुवालाई काहीं पुग्ने हतार थिएनझैं थियो ।
आफैंले सिर्जना गरेको विषम परिस्थितिको सामना गर्न नसक्ने भएको जस्तो देखिने मानिस एउटा नदेखिने जीवाणुको डरले सारा संसारभरि घरभित्र थुनिएर, निसासिएर बसेको थियो भने यता बाँकी सबै पशुपङ्क्षी यो परिस्थितिबाट वेखबर आफ्नो दिनचर्या सधैंभन्दा अझ आनन्दले बिताइरहेका थिए ।
लेखक : नेपाल फोटोपत्रकार महासंघ झापाका सदस्य हुन ।