Aamsanchar

मागुरमाडीका कृषक भन्छन   लाखौं रुपैयाँको लगानी बालुवामा पानी सरह भो 

Author Image
सोमवार, वैशाख २२, २०७७

मेचीनगर।  झापाको मेचीनगर— ९ मागुरमाडीका व्यवसायिकरुपमा खरबुजाको अग्र्यानिक खेती गरिरहेका किसानहरुले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्ने विकल्प अघि सारेका छन् ।

अहिले आफ्ना खेतमा उत्पादन भएका खरबुजा लकडाउनका कारण समयमै बजार पुर्याउन नसक्दा खेतबारीमै कुहिर जाने र हात्तीले खाएर, कुल्चिएर नष्ट गर्ने गरेका कारण लाखौं रुपैयाको आफ्नो लगानी डुब्ने अवस्थामा पुगेको किसानहरुल दुःखेसो व्यक्त गरेका छन् ।

मागुरमाडीक्षेत्रमा मात्रै एकदर्जनबढि किसानले ५ विगाह जग्गामा व्यवसायिकरुपमा खरबुजाको अग्र्यानिक खेती गरेका छन् । फागुनमहिनामा रोपेको विरुवामा एकमहिनामै फल लाग्न शुरु हुने र फल लाग्न शुरु भएको दुईमहिना लगत्तै खानका लागि तयारी हुने खरबुजा अहिले धेरैका खेतबारीमा लटरम्म फलेका छन् । तर लकडाउनका कारण यातायात नचल्दा वा बजार बन्द भएका कारण त्याहीँ नै कुहिने अवस्थामा पुगेको छ ।

विशेष गरेर १ नम्बर प्रदेशको धरान, विराटनगर तथा गण्डकी प्रदेशको पोखरालगायत अन्य बजारलाई लक्षित गरेर मागुरमाडीका किसानले अग्र्यानिकरुपमा व्यवसायिक ढंगले खरबुजा खेती गरेको भएपनि अहिले लकडाउनका कारण समयमै ती बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिकरुपमा ठूलो क्षति व्यहोर्नु परेको डी एण्डी डी बायोप्लान्ट मेचीनगरका सञ्चालक डिल्लीराज उप्रेतीको भनाई छ ।

‘अहिले हरेक किसानका खेतवारीमा खरबुजा राम्रैसँग उत्पादन भएका छन्’उप्रेतीले भने —‘हाम्रो बजार १ नम्बर प्रदेशका थोरै र गण्डकी प्रदेशका अधिकाँश बजार हो । तर, अहिले लकडाउनका कारण ती बजारमा आफ्ना उत्पादन पुर्याउनै सकिएको छैन् । गण्डकी प्रदेशले अन्य प्रदेशबाट कुनै पनि कृषिजन्य बस्तुको निर्यातमा रोक लागाएको छ । तर, भारतको जोगवनीबाट नेपालको विराटनगर नाकाहुदैं भित्रिएका अन्य सामान भने निर्वाध त्यहाँ पुगीरहेका छन् । ’ बजारका कारण अधिकाँश किसानको ठूलो लगानी जोखिममा परेको उनको भनाई । बजारमा १ नम्बर प्रदेशसहित गण्डकी प्रदेशमा अग्र्यानिक वस्तुको माग प्रश्स्त छ, उत्पादन पनि मनग्यै छ तर लकडाउनका कारण बजार र यातायातका साधन नचल्दा समस्या भएको कृषक उप्रेतीको भनाई छ ।

स्थानीय बजारले यहाँ उत्पादन भएका यस्ता वस्तुको उत्पादन धान्न अवस्था छैन् । यसवारेमा आफुहरुले प्रदेश सरकारदेखि संघीय सरकारसँगै समस्या राखे पनि कुनै सुनुवाई नभएको किसानहरुले गुनासो गरेका छन् । केही दिनअघि स्थानीय सरकार मेचीनगर नगरनगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मनिा पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्सहितको टोलीले किसानका घर घरमै पुगेर जानकारी लिएको थियो ।

करीव चार विगाह जमीनमा १२ देखि १४ लाख रुपैयाँ लगानी गरेर शुरु गरेको खरबुजा खेतीले अहिले २५ देखि ३० लाख रुपैयाँको आम्दानी दिए पनि उत्पादन भएका खरबुजा बजारसम्म पुर्याउन नसक्दा खेतबारमिै कुहिने अवस्थामा पुगेको उप्रेतीकोे भनाई छ । मेचीनगरको मागुरमाडीक्षेत्र जंगली हात्ती प्रभावित क्षेत्र हो । लकडाउनका कारण बजारसम्म पुर्याउन नसकेर बारीमै खरबुजा कुहिने चिन्ता किसानलाई एकतातिर छ भने अर्कातिर रातैपिच्छे गाउँपस्ने जंगली हात्तीले खाएर र कुल्चिएर नष्ट गर्ने अनि खेतबारीबाटै चोरी पो हुने हो कि भन्ने चिन्ता समेत किसानमा छ । आफुहरुले तीनै तहको सरकारसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको बताउदैँ उप्रेती भन्छन् —‘हामीलाई रातभर निन्द्रा आउदैंन, खेतबारीमा लाखौं रुपैयाँ लगानी गरिएको छ । चित्त बुझ्दो ढंगले उत्पादन पनि भएको छ । तर ती वस्तुलाई समयमै बजार पुर्याउन नसक्दा जंगली हात्तीको आहरा र चोरहरुले लैजान्छन भन्ने चिन्ता हुन्छ रातभर ।’

आफ्ना उत्पादनमा रसायिक मलखाद तथा विषादी प्रयोग नगरेका कारण १०÷१५ दिनसम्म कुहिने अवस्था नरहेपनि हात्ती र चोरीका कारण क्षति पुग्ने किसानहरुको भनाई छ । एउटा हात्तीले एकरातमा २ देखि ३ सय दाना खाने र त्यो भन्दा बढी कुल्चेर नष्ट गर्ने गरेको पीडित किसानहरुको भनाई छ ।

किसानहरुले आफ्ना समस्या स्थानीयदेखि संघीय सरकारमा समेत राखेको भएपनि कुनै तहको सरकार यो समस्याप्रति गम्भीर नबनेको उनीहरुको आरोप छ । सरकारले नेपालमै व्यवसायिक खेती गर्न र नेपाललाई हरेक खाद्यन्नका लागि आत्मनिर्भर बनाउने भनेर हल्ला गरे पनि त्यसप्रति सरकार कुनै सकरात्मक ढंगले अघि नबढेको स्थानीय कृषक रेखा बाराकोटीको भनाई छ ।

‘लाखौ रुपैयाँ लगानी गरेर अग्र्यानिक खेत गरियो र विक्री गर्ने बेलामा सवै नष्ट हुने अवस्थामा छ ’ बाराकोटीले भनिन् —‘अब कि त सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्यो नत्र हाम्रो यसमा गरेको लगानीको कारण घरवास उठिवास हुने अवस्था आउछ ।’ खरबुजाले राम्रै उत्पादन दिएको भएपनि समयमै बजारसम्म पुर्याउन नसक्दा लाखौ रुपैयाँ डुब्ने र चर्काे व्याजदरमा ऋण कडेर गरेको खेती डुब्दा घरबारी नै लिलामी हुने अवस्था शतप्रतिशत रहेको भन्दैं किसानका यी सामुहिक समस्यामा नेपालका तीनै तहका सरकार गम्भीर भएर समाधानतर्फ लाग्न बाराकोटीले आग्रह समेत गरिन् ।

स्थानीय बजारले मात्र यसको उत्पादन धान्न नसक्ने र बजारमा प्रश्स्त माग हुँदासम्म पुर्याउन नसकेकै कारण लगानी खेर जाने अवस्थामा पुगेको भन्दैं किसान प्रदिप उप्रेती खरबुजाले उत्पादन पनि राम्रोसँग दिए पनि उचितरुपमा बजारीकरण गर्न नसक्दा समस्यामा परेको बताए । ‘स्थानीय व्यपारीहरुले दैनिक १ देखि ३ सयकेजी सम्म खरिद गर्छन ’ प्रदिपले भने —‘ मागुरमाडीक्षेत्रमा मात्र २ लाख केजी उत्पादन भएको छ ।’ खुद्रा विक्री गरेर आफ्नो लगानी उठ्ने समभावना नरहेको उनको भनाई छ । उनले किसानले उत्पादन गरेका वस्तु छिटो भनदा छिटो बजारसम्म पुर्याईदिने वातावरण मिलाईदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेशिन तयार भएका उप्रेती स्थानीय स्तरमा अरुले शुरु गरेको व्यवसायिक खरबुजा खेती देखेर विदेशको यात्रा त्यागेर गाउँठाउँबाटै सयकडा ३ रुपैयाँ व्याजका दरले ऋण लिएर १० कठ्ठामा लगाएको खरबुजा बजारसम्म पुर्याउन सक्दा बारीमै नष्ट हुन थालेपछि साहुको ऋण कसरी तिर्ने भन्ने समस्या सिर्जना भएको पीडा सुनाउछन् ।

उनको जस्तै पीडा छ अर्का किसान सौरभ उप्रेतीको पनि । खरबुजाको बजारमा माग भएपनि बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिकरुपमा ठूलो नोक्शान व्यहोर्नु परेको उनको भनाई छ ।

नेपाललाई कृषि प्रधान देश भनिए पनि हरेक वर्ष हरियो सागसब्जीदेखि फलफूल र खाद्यन्न समेतमा परनिर्भर बन्नु परेको छ । नेपालम व्यावसायिकरुपमा यस्ता किसानहरुको समस्या बुझेर समयमै समाधानतर्फ लाग्ने हो भने कृषितर्फ उनीहरुको आर्कषण बढ्न सक्छ । यसकारण नेपाललाई साच्चै कृषि प्रधान देश भन्ने र व्यवहारमा समेत देखाउने हो भने तत्काल सरकार र सम्बन्धित निकाय आजै हरेक किसानका खेत खेतमा पुग्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर