Aamsanchar

भारतीय नागरिक नेपाल आउन खोजेपछि बारामा हवाई फायर

Author Image
बिहिवार, वैशाख २५, २०७७

वीरगञ्ज । केही दिन अघि झापाको झापा गाउँपालिकामा भएको परिस्थिती बाराको सुवर्ण गाउँपालिमा पनि उत्पन्न भएको छ ।

लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो । नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।

स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा २०र२५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ । एक(एक जना गरेर आउने भनेपनि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नमिल्ने अडान राख्दै आएका थिए । तर खेतमा तयार भएको तरकारी लगायतका बाली भित्र्याउन र नयाँ बाली लगाउन नपाएको भन्दै हनुमानगरका बासिन्दा आक्रोशित बनेका हुन् ।

सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताए ।

दुई दिन अघि झापाको झापा गाउँपालिका सुकुम्बासी टोलमा पनि भारतको बिहारबाट नेपाल प्रवेश गर्न हुलहुज्जत गरेर आएका भारतीय नागरिकलाई ससस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेर फिर्ता पठाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर