झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र एक साता अघी अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो । मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उनले जानकारी दिए ।
शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजीकार्य जारी राखेको छ । घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको समेत हुनसक्ने ठानेर झापा र इलामका प्रहरी एकाइमार्फत आफन्तको खोजी अघि बढाइएको प्रहरीको भनाइ छ ।