Aamsanchar

इस्ट होराइजनले दुई ठाउँमा स्थापना गरायो पाइडल टेङ्की

Author Image
मङ्गलवार, असार २३, २०७७

धुलाबारी । नेपालमा कोरोना संक्रमितको संख्या बढेर १६ हजार पुगिसकेको छ । कोरोना भाईरस कोभिड १९को कारण ३५ जनाले ज्यान गुमाईसकेका छन । समुदायमा कोरोना देखा नपरेको कारण कतिपय सर्वसाधारणहरुमा भाईरस लाग्दैन भन्ने भ्रम छाएकोछ, गाउँ सहरमा हिडडुल गर्नेहरुलाई हेर्दा कोरोनाबाट पर्नसक्ने असर सामान्य झै ठानिएको देखिन्छ । धेरैले मास्क लगाउन र भौतिक दुरीको पालना गर्न छोडेको पाईएको छ ।

यो अवस्था देश भरिमै रहेको छ । भाईरस समुदायमा फैलन सक्ने अवस्थालाई मध्यनजर गरेर रोकथामका लागि सरकारले हिजोबाट अनिवार्य मास्क लगाउनु पर्ने नलगाउनेलाई कार्वाही गर्न प्रहरीलाई मन्त्रालयबाट परिपत्र जारी भईसकेको छ । सरकारी तर्फबाट गाउँघरमा सचेतनाका कार्यक्रम भने हुन छोडेको छ । स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम हुन नसकी रहेको अवस्थालाई बुझेर सरकारलाई सघाउन र समुदायको हितको लागि कोरोना नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ ।

नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका विद्यार्थीको सहयोगमा बनाइएको उक्त टेङ्कीको क्षमता ५ सय लिटर रहेको सेवा दल होराइजका समन्वय शिक्षक विमलकुमार शाहीले बताए । हात धुने उक्त टेङ्कीको पानीमा सेनेटाइजर प्रयोग गरिएको छ ।

दुवै स्थानमा राखिएको हात धुने टेङ्की स्थानीय संस्थाको संरक्षणमा रहनेछ । धुलाबारी बजार सिरानमा राखिएको टेङ्कीको संरक्षण सन्जीवनी महिला विकास संस्थाले र मोडमा राखिएको टेङ्कीको संरक्षण धुलाबारी युनिटीले गर्ने भएको छ । हात धुने टेङ्कीको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले निरीक्षण गरेका थिए ।

हात धुने टेङ्की राखिएपछि दुवै स्थानमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । धुलाबारी मोडको कार्यक्रममा मेचीनगर वडा नं १० का वडाध्यक्ष सुवेश पनेरु, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरी, धुलाबारी युनिटीका संयोजक प्रकाश खड्कालगायतले सचेतना मन्तव्य राखेका थिए ।
यस्तै, धुलाबारी सिरानको कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का, सन्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, सहारा साकोसका निर्मल दाहाल, प्रेम डाँगीलगायतले मन्तव्य राखेका थिए ।

दुवै कार्यक्रममा इस्ट होराइजनका प्रिन्सिपल सन्जीव राईले औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।
शैक्षिक तथा सामाजिक क्षेत्रमा अगाडि रहेको इस्ट होराइजनले सोही अवसरमा धुलाबारी ट्राफिक पोस्टलाई स्वास्थ्य सुरक्षा सामाग्री पनि दिएको छ । साबुन तथा माक्स सर्वसाधारणलाई वितरण पनि गरिएको छ ।

Views: 362

प्रतिक्रिया (०)