Aamsanchar

कनकाई नदीबाट ८० घर डुबानमा, ३८ परिवार विस्थापित

Author Image
आइतवार, असार २८, २०७७

झापा । अविरल वर्षापछि झापाको कनकाई नदीमा आएको बाढीका कारण ८० घर डुबानमा परेका छन् । तीमध्ये ३८ घरपरिवार पूर्ण विस्थापित भएका छन् ।

झापा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० घर र शिवसताक्षी नगरपालिका–६ का १० घर डुबानमा परेका छन् ।

अविरल वर्षाका कारण कनकाईमा आएको बाढी शनिवार रातिदेखि मिलन बस्तीमा पसेको हो । बस्तीमा ८२ घरपरिवारको बसोबास छ । उनीहरूमध्ये ४० घर डुबानमा परेकाले ती घरका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष राजकुमार यादवले जानकारी दिए । कनकाईको बाढीले वडाको सालमारामा एक सय ५० घर, लसुनगञ्जमा ५० घर र सितुमारीमा ४० घर डुबानको उच्च जोखिममा रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।

कनकाई नदीको बाढी बस्तीमा पस्दा गौरीगञ्ज–१ होकलबारीमा ३० घर डुबानमा परेका छन् । नदी किनारको बाँध ओभरफ्लो भई बाढी बस्तीमा पसेको हो ।

बाढीले बस्तीसम्म जाने बाटो समेत अवरुद्ध भएकाले उद्धार टोली पुग्न कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

कनकाई नदीको बाढीले शिवसताक्षी–६ पुरानो शिवगञ्ज बजारका १० घर डुबानमा पारेको छ । नदी किनारको बाँध फुटाएर बाढी बस्तीतर्फ बस्दा १० घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारेको वडाध्यक्ष मनोज खुलालले बताउनुभयो । थप एक सय ५० घर डुबानको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

यसै गरी, जिल्लाकै पालिया खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–७ सिद्धार्थ टोलका नौ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नदी किनार कटानको उच्च जोखिममा परेकोले नौ घरका ४२ जनालाई सुरक्षित स्थान प्यारिभिट्टाको बसपार्कको भवनमा ल्याएर राखेको डिएसपी थापाले बताउनुभयो ।

यसअघि कनकाई नदीको बाढीले शनिवार शिवसताक्षी–१०स्थित सुकुम्वासी बस्तीका चार परिवार विस्थापित भएका थिए । उनीहरूलाई रेडक्रसको सहयोगमा नजिकैको चौरमा टेन्ट लगाएर राखिएको छ ।

बाढीले बगाउँदा शनिवार झापामा एक व्यक्तिको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर