बिर्तामोड- झापाको मेचीनगर-२ भृकुटीका कपडा व्यवसायी नारायण आचार्यको हत्यामा स्थानीय एकजना बालकको संलग्नता भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय झापाले व्यवसायी आचार्यको हत्यामा बालकको संलग्नता रहेको जनाएको हो ।
झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले घटनामा बालकको संलग्नता पुष्टि भएकाले उनको नाम गोप्य राखिएको बताए । कानुनतः अपराधमा संलग्न बालबालिकाको नाम गोप्य राख्नुपर्ने प्रावधान छ ।
डीएसपी थापाले पसलमा सामान खरिद गर्ने क्रममा भएको आपसी विवादका क्रममा ती बालकले आचार्यमाथि धारिलो हतियार प्रयोग गरेको जनाएका छन् । विवाद भएपछि ती बालकले आफन्तको घरमा गएर धारिलो हतियार लिएर आएको प्रहरीले जनाएको छ ।
आफ्नै पसलमा बसिरहेका बेला साउन ९ गते व्यवसायी आचार्यमाथि धारिलो हतियार प्रहार भएको थियो । गर्दनमा हतियार प्रहार भएपछि घाइते भएका आचार्यको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।