Aamsanchar

प्रतिबन्धित औषधिको कारोबार गरेको अभियोगमा झापाको दमकबाट डिलर सञ्चालक खड्का पक्राउ

Author Image
शुक्रवार, साउन २३, २०७७

झापा । प्रतिबन्धित औषधिको कारोबारमा संलग्नले पूर्वमा डिलर नै सञ्चालन गरेको खुलेको छ । झापाको दमक नगरपालिका–७ मा सञ्चालनमा रहेको एउटा औषधिको होलसेल पसलमा छापा हान्दा यस्तो रहस्य खुलेको हो । छापा हानेर औषधि व्यवस्था विभाग विराटनगर र प्रहरीको संयुक्त टोलीले मेडिसिन डिस्ट्रीब्युटर्स नामक औषधिको होलसेल पसलका सञ्चालक ३८ वर्षीय गंगाबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको छ ।

उनले चलाएको होलसेल पसल भएको घरबाट नेपालमा आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएका ठूलो परिणामको औषधि पनि बरामद भएका छन् । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले औषधिको होलसेल पसलका आडमा खड्काले प्रतिबन्धित औषधि बिक्रीको धन्दा पनि चलाइएको खुलेको बताए ।

उनकाअनुसार भारतबाट अवैध रुपमा भित्राएर ट्रामाडोल, जेनग्रा रेड, लुलीगार्ड, डर्मीकेम ओसी, प्रेगाउट किट, भिवेल फोर्ट, क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधि घरमा ‘स्टक’ गर्दै खड्काले पूर्वका विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने गरेको पाइएको छ । यी कुनै औषधि नेपालमा भित्राउन र बिक्रीवितरण गर्न नपाइने उनको भनाइ ।

खड्काको घरमा छापा हान्दा लुकाईछिपाई राखेको अवस्थामा एक सय २० पत्ता ट्रामाडोल, ३० पत्ता जेनग्रा रेड, ९५ ट्युब लुलीगार्ड, चार सय बट्टा डर्मीकेम ओसी, १४ पत्ता प्रेगाउट किट, एक सय ४० पत्ता भिवेल फोर्ट र एक सय ५० ट्युब क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधि बरामद भएको कट्टेलले बताए । ट्रामाडोल क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिन्छ । जेनेग्रा रेड मानिसलाई यौन उत्तेजनामा ल्याउने र लुलीगार्ड, डर्मीकेम ओसी तथा क्लोबेटा जिएम छालामा प्रयोग गर्ने औषधि रहेको कट्टेलले बताए । त्यस्तै प्रेगाउट किट गर्भपतन गराउने औषधि हो ।

खड्काले प्रतिबन्धित औषधिको पनि कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी र विभागले उनीमाथि धेरै पहिलेदेखि निगरानी बढाएका थिए । खड्काले प्रतिबन्धित औषधि चैं आफ्नो विश्वासिला र नजिकका व्यक्तिहरुलाई मात्रै बिक्री गर्ने गरेको पाइएको उनको भनाइ छ ।

अरु औषधिमा मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले ट्रामाडोल सरकारले नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको उनले बताए । कट्टेलकाअनुसार १५ देखि ३० वर्ष उमेर समूहका युवाले यसको अत्याधिक प्रयोग गर्ने गरेको पाइएको छ । विशेष गरेर लागुऔषधका दुव्र्यसनीले पेट दुख्दा र नशाको दुखाईमा प्रयोग गरिने प्रिगाभालिन, डाइसाइक्लोमिन समेतका औषधिसँग मिसाएर ट्रामाडोलको सेवन गर्ने गरेको कट्टेलको भनाइ छ ।

प्रिगाभालिन र डाइसाइक्लोमिन नेपालमा बिक्री गर्न मिल्ने ब्राण्डका औषधि हुन् । ‘ट्रामाडोलसँगै बरामद हुने यी औषधि दर्ता भएका आधिकारिक कम्पनीबाटै दुरुपयोग भइरहेको पाइएको छ,’ विभागका प्रमुख कट्टेलले भने, ‘त्यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन प्रक्रिया अघि बढाइएको छ ।’

प्रतिबन्धित अवैध औषधिसहित पक्राउ गरिएका खड्कालाई भने हिरासतमा राखेर थप कारबाही अघि बढाइएको छ । कट्टेलकाअनुसार विभिन्न स्थानबाट प्रहरीले पछिल्लो एक महिनाको अवधिमा १५ जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेर कारबाहीका लागि औषधि व्यवस्था विभागलाई बुझाएको छ ।

यसअघि पक्राउ परेकाहरुले खड्काबाटै आफूहरुले प्रतिबन्धित औषधि खरिद गर्ने गरेको बयान दिएका छन् । ‘खड्काले अरु पनि प्रतिबन्धित औषध ‘स्टक’ गरेर राखेका हुन सक्छन्,’ उनले भने, ‘थप अनुसन्धान अघि बढाएर खोजी थालिएको छ ।’ घरबाटै डिलर सञ्चालन गरेका खड्का पूर्वका विभिन्न सहरमा प्रतिबन्धित औषधि ‘सप्लाई’ गर्ने अवैध डिलर सञ्चालक भएको खुलेको छ । प्रतिबन्धित औषधि फार्मेसीहरुलाई पनि उपलब्ध गराउने गरेको पाइएको छ ।

खड्काविरुद्ध औषधि ऐन २०३५ अनुसार कारबाही गर्न अनुसन्धान अघि बढाइएको जानकारी खड्काले दिए । प्रारम्भिक अनुसन्धानबाट खड्काले ऐनको दफा १८ को बर्खिलाप गरेको खुलेको छ । ऐनको दफा १८ ले कुनै पनि औषधिको दुरुपयोग गर्न नपाइने र दुरुपयोग गरेमा कैद र जरिवानाको सजाय हुने व्यवस्था गरेको छ ।

श्रोत: पूर्वेली खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर