अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शनिश्चरेका अनुसार हतियार प्रहारबाट श्रीमती लक्ष्मीको हातमा गहिरो चोट लागेको छ भने घाँटीको पछाडिको भागमा पनि चोट पुगेको छ ।
सोमबार बिहान घर नजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा राजेन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरी नायव निरीक्षक सूर्यबहादुर बस्नेतले जानकारी दिए ।
घरायसी झगडामा हतियार प्रहार गरेका श्रीमान तत्काल जंगलतर्फ भागेकाले गाउँलेको सहयोगमा खोजी गरे पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ । घाइते लक्ष्मीको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।