Aamsanchar

इनरह्वीलले गर्यो तीजमा फ्रन्टलाइनमा रहेर काम गर्ने महिलालाईे सम्मान

Author Image
बिहिवार, भदौ ४, २०७७

बिर्तामोड । नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने गरिन्छ । द्वितीयाको दिन राती दर खाने, तृतियाको दिन भगवान शिवको व्रत बसेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरी तीज पर्व मनाइन्छ ।

विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तीजको ब्रत बस्ने गर्दछन् । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यसवर्ष विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि धेरै महिला कर्मघरमै दर खाएर तीज मनाउँदै छन् ।
विशेषगरी माइती एवम् दाजुभाईले छोरी, चेली एवम् दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् ।

कोरोना कहरले आफ्नो माइती घर जान नपाएपछि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका महिला पदाधिकारीले कोरोना संक्रमणको जोखिम बढ्दै गएको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न क्षेत्रमा छ जना महिलालाई श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएका छन् ।
कोरोना महामारीको समयमा पनि परिवार पाल्नका लागि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्ने नर्स ,क्लिनर, घरेलु कामदार, व्यापारी महिलालाई सम्मान गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् ।

पछिल्ला वर्षमा तीजका नाममा एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेकाले तीजलाई उच्छृङ्खलता र तडकभडकरहीत तरिकाले मनाउनु पर्छ भन्ने सन्देश दिने उद्धेश्यले कोरोना संक्रमणको जोखिम बढ्दै गएको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न क्षेत्रमा छ जना महिलालाई प्रोत्साहन गर्न श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएको उनले वताइन् । कुनैपनि काम सानो नहुने र कामलाई सवैले पूजा गर्नुपर्छ भन्ने सन्देश दिनपनि उनीहरुलाई सम्मान गरेको प्रेसिडेन्ट वंशलले बताइन् । तीज पर्वलाई तडकभडकरहीत तरिकाले मनाउन र कोरोना महामारीको समयमा घरमै रहेर रमाइलो गरी तीज मनाउन उनले सवैलाई आग्रह गरिन् ।

बिर्तामोड नपा –१ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल आइएसओ मोनिका अग्रवाल , वोर्ड मेम्वर रुची शिवाकोटी , कमला पौडेल, रेखा अग्रवाल र रेनु गोयलले सिनियर एएनएम टंकमाया संग्रौला , सेक्युरिटी गार्ड सुनिता अधिकारी, तरकारी व्यापारी फूलकुमारी राजवंशी , फलफूल व्यापारी थोपु चौधरी , क्लिनर तारा राजवंशी र घरेलु कामदार ममता शाहलाई साडी , चुरा , पोते प्रदान गरी सामुहिक दर खुवाएका थिए । त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न उनीहरलाई मास्कसमेत वितरण गरेका थिए ।
कोरोना महामारीको समयमा पनि परिवार पाल्नका लागि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्दै आएपनि सवैले छि  छि  दूर  दूर  गर्ने गरेकोमा तीज पर्वको अवसरमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले सम्मानसहित सामुहिक दर खुवाउँदा आफूहरुलाई वास्तविक तीज आएको अनुभूति भएको उनीहरुले बताएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर