Aamsanchar

पीसीआर मेसिन विलमा आठ लाख बढीमा खरिद

Author Image
आइतवार, भदौ १४, २०७७

विराटनगर । निजी क्षेत्रको लगानी र विराटनगर महानगरपालिकाको समन्वयमा कोसी अस्पताललाई हस्तान्तरण गरिएको पीसीआर परीक्षण मेसिन खरिद विवादमा तानिएको छ । बजार मूल्यभन्दा महँगोमा किनिएको कुरा आएपछि मेसिन खरिद विवादमा परेको हो । उद्योगी व्यवसायीले चन्दा उठाएर पहिलो पटक खरिद गर्दै विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको मेसिन गत सोमबार अस्पताललाई हस्तान्तरण गरिएको थियो । मेसिनलाई प्रयोगशालामा जडान गरेर सञ्चालन गरिसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। चुमनलाल दासले बताए ।

विराटनगरका उद्योगी प्रदीप मुरारकाले छोरा शिशिरमार्फत जर्मनमा निर्मित क्वायजेन कम्पनीको ‘रोटर–जेन क्यू ५ प्लेक्स एचआरएम सिस्टम’ मोडलको पीसीआर मेसिन खरिद गरेर विराटनगर भित्राएको बताइएको छ । यही मोडलको अर्को मेसिनबाट अहिले अस्पतालमा पीसीआर परीक्षण भइरहेको छ । स्रोतका अनुसार एकै मोडलको मेसिन खरिद गर्दा एउटामा समस्या आए तुरुन्तै अर्कोबाट काम गर्न सकिने र परीक्षण नरोकिने भनेर अस्पतालबाट प्रयोगशाला प्रमुख डा। कामना शर्मा र सुशील तापडियाको सुझाव अनुसार जर्मनमा निर्मित क्वायजेन कम्पनीको मेसिन खरिद गरिएको हो ।

मेसिन खरिद गरिएको बिल ‘जेएचएस एनालाइटिक ट्रेडर्स काठमाडौं’ को नामबाट काटिएको छ । बिलमा महानगरलाई हस्तान्तरण गरेको मेसिनको मूल्य २८ लाख र भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँ छ । तर सोही मेसिनको मूल्य १२ लाख ५० हजार भारु ९नेपाली २० लाख रुपैयाँ० पर्ने बताइएको छ ।

आपूर्तिकर्ताले बढाएर २८ लाख रुपैयाँमा खरिद गरेको देखाउँदा मूल्यमा आठ लाख रुपैयाँको अन्तर परेपछि मेसिन खरिद विवादमा परेको हो । १७ लाख १७ हजार आठ सय ३० रुपैयाँ भारतीय मूल्य रहेकोमा छुटसहित १२ लाख ५० हजारमा उपलब्ध गराउने प्रतिवद्धता गर्दै सप्लायर्स भारतीय कम्पनी क्वायजेनले छुट रकमसहितको स्टिमेट बिल सार्वजनिक गरेपछि मेसिन खरिदका लागि खुलेर सहयोग गरेका उद्योगी व्यवसायी निराश बनेका छन् । त्यस बाहेक मेसिन आयातमा केही रकम खर्च हुन्छ ।

महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढेर परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट ढिलो आउन थालेपछि चन्दा उठाएर मेसिन खरिद गरिएको थियो । जसका लागि मेयर भीम पराजुलीको समन्वयमा सर्वसाधारण, समाजसेवी, उद्योगी तथा व्यवसायीहरुले रकम सहयोग गरेका थिए । त्यही रकमबाट मुरारकामार्फत मेसिन खरिद गरिएको महानगरले जनाएको छ । मेयर पराजुलीले पनि मेसिन खरिद गर्दा एक वर्षको तलब सुविधा उपलब्ध गराएका थिए ।
मेसिन आयातकर्ता भनिएका मुरारका उद्योग संगठन मोरङका उपाध्यक्ष हुन् । मेसिन खरिदका लागि सबैतिर सहयोग संकलन हुन थालेपछि उनले पनि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसपछि काठमाडौंमा बसेर मेडिकल उपकरणहरुको आयात र बिक्रीको काम गर्दै आएका छोरा शिशिरमार्फत उनले मेसिन झिकाएका हुन् ।

उत्पादक कम्पनीले नै २० लाख रुपैयाँ पर्ने भनेको पीसीआर मेसिनको मूल्य २८ लाख रुपैयाँ देखाएर मुरारकाले पाँच लाख रुपैयाँ चन्दा सहयोग गरेको भन्दै प्रचार गराएको स्रोतको दाबी छ । सामाजिक काममा सहयोग गर्नेमा अगाडि नदेखिने मुरारकाले पीसीआर मेसिन खरिदमा पाँच लाख दिएको भन्दा आश्चर्य लागेको एक उद्योगले बताए । उनले मेसिन खरिदका नाममा मुरारकाले आठ लाख रुपैयाँ मुनाफा लिएको प्रष्ट देखिने बताए ।

‘सामान्यतया सामाजिक काममा खुलेर सहयोग नगर्ने मुरारकाले मेसिन खरिदका क्रममा पाँच लाख सहयोग गरेको भन्दा हामी पनि छक्क परेका थियौं,’ ती उद्योगीले भने, ‘तर अहिले वास्तविकता थाहा भयो ।’ मुनाफा लिएको कुरा सार्वजनिक भएपछि मुरारकासँग निजी क्षेत्र असन्तुष्ट बनेको उनको भनाइ छ ।

मेयर पराजुलीले भने मुरारकाकै सहयोगमा विराटनगरमा मेसिन चाँडो र सस्तोमा आएको बताए । ‘वीरगञ्जमा त्यही मेसिन मुरारकाले ४० लाखमा बिक्री गरेको सुनेको थिएँ,’ उनले भने, ‘विराटनगरका लागि भने सस्तोमा उपलब्ध भयो ।’ आफू प्राविधिक नभए पनि वीरगञ्जको भन्दा सस्तैमा दिएकाले संकटमा सहयोग गरेका उद्योगीले मुनाफा लिने मनसाय नराखेको हुनु पर्ने पराजुलीको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले तेस्रो मुलुकमा उत्पादन हुने मेसिन भारतबाट आयात गर्नै नमिल्ने र यसमा मुरारकाले लाभ नलिएको बताए । ‘त्यति सस्तोमा मेसिन आउँछ भने दुईवटा खरिद गर्न हामी तयार छौं,’ उनले भने, ‘एउटा सरकार र एउटा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिन्छौं ।’

मेसिनमा मुनाफा लिएको आरोप लागेपछि उद्योगी मुरारकाले भने आफूले एक पैसा पनि नखाएको र मेयरको आग्रहमा छिटो गरेर मेसिन उपलब्ध गराउने वातावरण मात्रै मिलाएको बताएका छन् । आफूले खरिदमा कुनै काम नगरेको र छोरामार्फत काठमाडौंका व्यापारीसँग महानगरको सम्पर्क मात्र गराइदिएको उनको भनाइ छ । आफैले पाँच लाख रुपैयाँ मेसिन खरिदमा सहयोग गरेको बताउँदै मुरारकाले भने, ‘मैले पैसा खाएको रहेछ भने मेरो सर्वनास होस् । सहयोग गर्दा मलाई बद्नाम गराउने प्रयास भयो ।’

भारतमा साढे १२ लाख पर्ने मेसिनको १८ प्रतिशत जिएसटी कर र पाँच प्रतिशत भन्सार लाग्ने हुँदा मूल्य उस्तै पर्ने मुरारकाको भनाइ छ । ‘जिएसटी र भन्सार बाहेक बिक्रेताले पनि एक/डेढ लाख मुनाफा लिन्छन्नै,’ उनले भने, ‘जर्मनीको मेसिन भारतबाट ल्याउन नसकिने भएकाले काठमाडौंबाट ल्याइएको हो ।’ काठमाडौंबाट खरिद गर्दा पछि बिग्रियो भने मर्मत सम्भारका लागि पनि प्राविधिक बोलाउन सजिलो हुने र भातरबाट मेसिन मर्मतका लागि प्राविधिक नआउने मुरारकाको भनाइ छ । श्रोत पूर्वेली न्युज

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर