Aamsanchar

विराटनगरका एक थुनुवामा पनि कोरोना देखियो

Author Image
मङ्गलवार, भदौ २३, २०७७

विराटनगर । मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मोरङमा थुनुवामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमा कोरोना संक्रमण देखिएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार जवरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएकासुनवर्षी नगरपालिका–४ का २६ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

प्रहरीले पक्राउ गरेर भदौ २० गते शनिबार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरेर पठाएको थियो । कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सोमबारसाँझ प्राप्त भएको जानकारी राईले दिए । उनका अनुसार कोरोना देखिएपछि ती थुनुवाको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरेर प्रहरी निगरानीमा उपचार थालिएको छ । मोरङ प्रहरीको हिरासतमा मंगलबार बिहानसम्ममा २६ जना थुनुवा रहेकोमा अरु २५ जनाको रिपोर्ट नेगेटिभ आएको डीएसपी राईले बताए ।

कुनै पनि घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राख्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदै थुनुवामा कोरोना भए/नभएको प्रहरीले यकिन गर्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बलात्कारको आरोपमा पक्राउ गरेर अनुसन्धान थालिएका थुनुवामा कोरोना देखिएपछि अरु थुनुवालाई संक्रमण नफैलिओस भनेर हिरासतमा उच्च सर्तकता अपनाइएको जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर