Aamsanchar

‘भ्रष्टाचार र राजनीतिको अन्तरसम्बन्ध’

Author Image
सोमवार, भदौ २९, २०७७

भ्रष्टाचार र राजनीति फरक विषय हुन्, तर अहिले नेपाल लगायत विश्वका धेरै मुलुकहरूमा भ्रष्टाचार र राजनीति “जुम्ल्याहा दाजुभाइ” जस्ता देखिएका छन्। त्यसैले राजनीतिक संरक्षण बिनाको भ्रष्टाचार र भ्रष्टाचार बिनाको निश्कलंक राजनीति, अहिले जनमानसको कल्पना भन्दा बाहिर रहेको छ। नेपालको सन्दर्भमा व्याप्त भ्रष्टाचार के कारणले बढि भइरहेको छ ? सुरुमा यसबारे सहज र सरल भाषामा सामान्य चर्चा गरौं।

भ्रष्टाचारको मुख्य उद्धेश्य अर्थ संकलन गर्नु हो। अर्थ संकलनको अभिप्राय समाजमा अरुभन्दा बलवान् र धनवान् देखिन खोज्नु हो। किनकि यो पुँजीवादी सामाजिक चरित्रले आफुसंग प्रशस्त पैसा भयो भने समाजको जुनसुकै क्षेत्रमा पनि सजिलै आफ्नो प्रभाव र प्रभुत्व जमाउन सकिन्छ भन्ने चेतना जबर्जस्त निर्माण गरिदिएको छ र समाजमा जसको बढी हालिमुहाली रहन्छ उहीँ नै “ठुला मान्छे” हुन् भन्ने सामाजिक मान्यता स्थापित गरेको छ। त्यसैले यो अवधारणाबाट प्रशिक्षित व्यक्तिहरूको एकमात्र लक्ष्य भनेको जसरी हुन्छ पैसा कमाउने र धनी बन्ने मात्र हुन्छ। तर पैसा कमाउने कुरा त्यति सजिलो विषय होइन। यसको लागि कि दिनरात मेहनत गर्दै धैर्यता गर्न सक्नुपर्छ, कि त अरुलाई ढाँट्न, ठग्न र लुट्न सक्नुपर्छ। छिटो धनी बन्ने दौडमा अहिले प्रायः धेरै मानिसहरूले माथि उल्लेखित पहिलो भन्दा दोस्रो सुत्रलाई नै बढी प्राथमिकता दिने गरेका छन्।

इमानदार पूर्वक मेहनत गरेपनि त्यसको फल प्राप्त गर्नको निमित्त एउटा निश्चित समय पर्खिनुपर्ने हुन्छ। जस्तै असारमा धान रोपेपनि त्यसको फसल काट्न अर्थात भित्र्याउन मंसिर सम्म अनिवार्य कुर्नैपर्छ। तर आज देखासिकीमा रमाउन बानी परेका अधिकांश मानिसहरू संग धैर्यता भन्ने चीज नै छैन। त्यसैले बेलुकी सुत्दा रोपेको सुन्तलाको विरुवा बिहान उठ्दा लटरम्म फलिरहोस् भन्ने उनीहरू चाहान्छन्। यसरी असिमित चाहाना र आफ्नो वास्तविक यथार्थ धरातल बीच सन्तुलन नमिल्दा, सामान्य पिउन देखि ठुल्ठुला राजकीय पद धारणा गरेका व्यक्तिहरू समेत आफ्नो मुल्य – मान्यता र आदर्शबाट बिचलित हुने गरेका छन् र आफ्नो पदीय गरिमा र जिम्मेवारीलाई बेवास्ता गर्दै भ्रष्टाचारको चंगुलमा फस्ने गरेका छन्। जब मान्छेको नियत नै खराब भइसकेपछि त्यस्ता व्यक्तिहरुलाई सदाचार, इमानदार र नैतिक जिम्मेवारी जस्ता कुराहरू “फुस्रा गफ” लाग्न थाल्छ र अरुलाई समेत गैरजिम्मेवार र भ्रष्ट आचरण अवलम्बन गर्न उद्धेलित गर्छन्।

हाम्रो नेपाली समाजको गलत पारिवारिक संरचनाको कारण पनि, भ्रष्टाचारलाई थप बढावा मिलिरहेको छ भन्ने यो पंक्तिकारलाई लागेको छ। किनकि हाम्रो नेपाली परिवार एकजना परिवारको सदस्य मध्ये जसले कमाउन सक्छ, परिवारका अन्य सबै सदस्य उसैमा निर्भर रहने परिपाटी रहेको छ। त्यसैले समयक्रमसंगै परिवारको सबै सदस्यको दैनिक आवश्यकताहरु बढ्दै गइरहेको हुन्छ, तर ती आवश्यकताहरु पूरा गर्ने व्यक्ति परिवारमा एकजना मात्र हुन्छ। एकजनाको सामान्य तलब अर्थात कमाइले परिवारका ५ /७ जना व्यक्तिहरूको आवश्यकता राम्रोसँग पूरा गर्नेकुरा, जो – कोहीको लागि पनि त्यति सजिलो कार्य होइन। यसरी परिवारको सबै बोझ एकजना व्यक्तिको टाउको माथि थुपार्ने संस्कृतिले त्यो व्यक्ति सिमित स्रोत – साधन र असिमित आवश्यकताहरुको द्वन्द्वमा फसेर अन्ततोगत्वा भ्रष्टाचारी बन्नपुग्छ। त्यसैले भ्रष्टाचारलाई निर्मुल पार्न र प्रत्येक नागरिकहरू आत्मनिर्भर तर्फ उन्मुख हुनको लागि यो “समाजवाद उन्मुख” सरकारले देशमा तत्काल रोजगार सिर्जना गर्नुपर्ने देखिन्छ। कोरोना कहरको बेला यस्तो माग त्यति समय सापेक्ष र उपयुक्त माग नठानिएला, तर सरकारको ध्यान अरुबेला पनि त्यतातिर खासै गएको देखिदैन। बरु आफैं विभिन्न विवाद र केही दलालहरुको घेरामा पर्दै गएको देखिन्छ। जसको कारण कुनैपनि सरकारी नियुक्तिहरु विवादमुक्त हुन सकेको छैन। आज हाम्रो देशमा भ्रष्टाचार व्यक्तिमा मात्र सिमित छैन, संस्थागत रुपमै ठुल्ठुला भ्रष्टाचार र अनियमितता हुने गरेको समाचार हामीले दैनिकजसो पत्रपत्रिकामा पढ्न पाउँछौं। विश्व कोरोना महामारीको बेला समेत भ्रष्टाचारको समाचारले नेपालको मिडियाहरुमा आफ्नो स्थान छोड्न मानेन। मानवीय संवेदनाको कोणबाट हेर्ने हो भने, यो ज्यादै नै दुखद र लज्जास्पद कुरा हो।

तर सानातिना भ्रष्टाचारीहरु बाहेक ठुला भ्रष्टाचारीहरु कारवाहीमा परेका समाचार एकदमै कम मात्रामा सुन्न, देख्न पाउँछौं। यसको मुख्य कारण भनेको राजनीतिक संरक्षण नै हो। कानुनी निर्माणको तहमा पुगेका व्यक्तिहरूबाटै भ्रष्टाचारीलाई संरक्षण गरिंदा देशको सम्पत्ति बर्बाद गर्नेहरूको मनोबल झन् बढ्दै गइरहेको छ। त्यसैले यहाँ कतिपय दण्डित हुनुपर्ने व्यक्तिहरू समाजमा खुलेआम मात्र हिडिरहेका छैनन्, कसैले त सरकारी नियुक्ति समेत खान भ्याईरहेका छन्। यसरी “पहुँच र पावर भएमा जस्तोसुकै दण्डनीय अपराध गरेपनि उन्मुक्ति पाइन्छ” भन्ने नजिर नै अहिलेका ठुला राजनीतिक दल र त्यसका नेताहरूले स्थापित गरिसकेका छन्। यो सुसंस्कृत समाजको निम्ति अत्यन्त लज्जित र कालोधब्बा हो। भ्रष्टाचार मुक्त सुसंस्कृत राजनीतिले सँधै सुशासन, पारदर्शिता, जवाफदेहिता र विकासको परिकल्पना गर्छ र त्यसै अनुरुप नीति निर्माण गर्छ। तर हाम्रो देशको राजनीति, भ्रष्टाचारको जालोभित्र बेरिएर कमाईखाने भाँडो बनेको छ। त्यसैले सुशासन र सदाचारसंग अन्तरसम्बन्ध हुनुपर्ने राजनीति, भ्रष्टाचारसंग अनैतिक सम्बन्ध गाँस्न पुगेका छन्। जसका कारण आज नेपालमा सबैभन्दा नाफामुलक व्यबसाय नै राजनीति बन्न पुगेको छ।

देशको मुल कानुन बनाउँदै समाजको बृहत्तर हितको निम्ति गरिने राजनीति, नाफामुलक व्यबसायमा रुपान्तरण भएपछि, राजनीतिको मुल मर्म “देश र जनताको सेवा” भन्ने शब्दप्रति नै अहिले नेपाली जनतालाई भद्धा मजाक लाग्न थालेको छ। त्यसैले कुनै इमानदार युवाले “म राजनीतिको माध्यमबाट देश र जनताको सेवा गर्न चाहान्छु” भन्यो भने ती इमानदार व्यक्तिलाई हाँसोको पात्र बनाइन्छ र निराशाको पोको थमाइन्छ। निराशाको पोकोले जो – कोहिलाई पनि कि मानसिक विक्षिप्त बनाउँछ, कि त त्यस्ता अनेक विकृति विसंगतिको शिकार त अवश्य नै बनाउछ। तर कुकर्म नै गरेपनि यदि पैसाको बिटो धेरै आउने ठाउँ छ भने, यो समाज आँखा चिम्लेर बधाईको ओईरो दिन जहिल्यै पनि तयार छ। किनकि यो नाफामा टिकेको समाजले बस् खाली नाफा मात्र हेर्छ, त्यसको कुनै स्रोत खोज्दैन।

अन्त्यमा, आज देशमा मेहनती, इमानदारी र सदाचारी व्यक्तिहरू पनि नभएका होइनन्, तर तिनीहरू राजनीतिको मुलधार भन्दा बाहिर छन्। त्यसैले उनीहरूको आवाज एकदम कम सुनिन्छन्, अर्थात् यो समाज यस्ता व्यक्तिहरुलाई सुन्न चाहादैंनन्। किनकि अहिलेको हाम्रो समाज चोरी, डकैती, लुटपाट, बलात्कार र भ्रष्टाचारका समाचारहरु सुन्न अभ्यस्त भइसकेका छन्। त्यसैले सदाचार, इमानदार र नैतिक जिम्मेवारी जस्ता कुराहरू हाम्रो नेपाली समाजको लागि “आठौं आश्चर्य”को विषय बन्दै गइरहेको छ।
सायद त्यसैले होला, अस्वस्थताको कारण आफ्नो कार्यकाल अवधि नसकिदैं जापानी प्रधानमन्त्री सिन्जो आबेले भर्खरै आफ्नो पदबाट दिएको राजिनामाले नेपालमा खुब चर्चा पाइरहेको छ। तर विधि, विधान र प्रक्रियाद्धारा सञ्चालित सुसंगत राजनीतिक नेतृत्व पाएको जापानी जनताको लागि यो स्वाभाविक विषय र आगामी पुस्ताको लागि एउटा शिक्षा बन्नसक्छ। त्यसैले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई सुसंस्कृत र सभ्य मानवीय समाजमा रुपान्तरण गर्न र राजनीतिमा भइरहेको भ्रष्टीकरणलाई रोक्नको लागि सम्पूर्ण सचेत नेपाली नागरिकहरुले आ – आफ्नो ठाउँबाट भ्रष्टाचार लगायत विभिन्न विकृति, विसंगति विरुद्ध आवाज बुलन्द गर्न जरुरी छ। ताकि भ्रष्टाचारीहरुलाई दण्डित गर्नको लागि राजनीतिक नेतृत्व कडा भन्दा कडा नियम कानुन बनाउन र त्यसलाई कार्यन्वयनको तहसम्म लान बाध्य होस्। तर यसको लागि जनसंख्याको ६० / ७० प्रतिशत भन्दा बढि मानिसहरू अरुको “अन्धभक्त” बन्ने परम्परा र आफ्नो राजनीतिक आस्था भन्दा माथि उठ्नैपर्छ। अनि मात्र हामी सबैले परिकल्पना गरेको सत्य र समानतामुलक समाज निर्माण गर्न सम्भव छ।
लेखक अनुराग झापा कनकाई नगरपालिका–८, लक्ष्मीपुर  निवासी हुँन ।

[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 473

प्रतिक्रिया (०)