Aamsanchar

भारतद्वारा नेपालमा प्याज निर्यातमा रोक

Author Image
बुधवार, भदौ ३१, २०७७

काठमाडौं । नेपालमा प्रमुख प्याज निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ ।

गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । भारतीय बजारमै प्याजको मूल्य बढेको र उत्पादनसमेत घटेको कारण देखाएर भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतीय बजारमै यतिखेर प्याजको मूल्य प्रतिकेजी २५ देखि २७ रुपैयाँ छ । निर्यात रोकेपछि बजारमा प्याजको स्टक रहने र मूल्य घट्ने भारत सरकारको बुझाइ छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा भने प्याजको अभाव भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गत आइतबार र सोमबार क्रमशः ६२ र ३५ टन प्याज आयात भएकोमा मङ्गलबार प्याजको आयात शुन्यमा झरेको छ ।

प्याजको प्रमुख निर्यातकर्ता भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा प्याजको अभाव भइ मूल्यवृद्धि हुनपुगेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए ।

‘उताबाट आधिकारिक जानकारी त आएको छैन । आयात हुन छाडेकाले बजारमा प्याजको अभाव हुन थालेको सूचना आएको छ,’ उनले भने, ‘यसको असर कतिसम्म पर्ने हो, अहिले नै भन्न सक्ने अवस्था छैन ।’ निर्यात प्रतिवन्ध लम्बिरहने हो भने बजारमा हाहाकार मच्चिन सक्ने उनको भनाइ छ ।

‘भारतीय प्रतिवन्धको दोस्रो दिनमै बजारमा प्याजको अभाव देख्न थालिसकेको छ । यसले चरम मूल्य वृद्धि हुनेमा कुनै शंका छैन,’ कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव हरिकृष्ण थापाले भने, ‘छिटोभन्दा छिटो विकल्प नखोजिने हो भने दशैंसम्म प्याजको भाऊले नयाँ रेकर्ड राख्न सक्छ ।’

नेपाल प्याज आयातका लागि ९९ प्रतिशत भारतमै निर्भर छ । गत सोमबार अधिकतम ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको प्याज भारतले निर्यात रोकेसँगै ७५ देखि ८० रुपैयाँ प्रतिकेजीसम्ममा कारोबार भएको छ । ५ दिन यता बजारमा प्याजको मूल्य क्रमशः बढ्दै आएको छ । भारतको पछिल्लो निर्णयसँगै अधिकतम ७० प्रतिशतसम्मले प्याजको मूल्यवृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कले देखाएको छ ।

समितिको तथ्याङ्क अनुसार गत शुक्रबार अधिकतम ५३ रुपैयाँ प्रतिकेजी थोक मूल्यमा कारोबार भएको प्याजको मूल्य मंगलबार ९५ दिनमा० ७५ रुपैयाँ पुगेको छ । यो मूल्य अझ बढ्न सक्ने समितिले बताएको छ ।

गत वर्ष पनि भारतले प्याजको निर्यातमा अवरोध गर्दा बजारमा हाहाकार मच्चिएको थियो । प्रतिकेजी ३०–४० रुपैयाँमा पाइने प्याजको मूल्य अधिकतम दुई सय देखि ३ सय रुपैयाँसम्म पुगेको थियो । श्रोत : रातोपाटी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर