Aamsanchar

सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी

Author Image
बिहिवार, असोज ८, २०७७

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले सातामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने जनाइएको छ । पर्यटन मन्त्रालयका सह –सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य छन् । जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार पारिनेछ ।

बैठकले पशुपति मन्दिर, लुिम्बनी सङ्ग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ सिसिएमसीमा पेश गर्ने निर्णय गरेको छ । बैठकले बंगलादेश इन्डोनेसिया, रसिया, कोरिया फिनल्याण्डसँग भएको हवाई सम्झौता असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ ।

पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णय बैठकले गरेको छ । बैठकले सातादिनभित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ ।

मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्न समेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर