काठमाण्डाै –सरकारले यो दशैँमा सकभर सहरबाट गाउँ नजान अनुरोध गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अवस्था अत्यन्तै संवेदनशिल भएको बेलामा चाडबाड मनाउन गाउँ जानु जोखिमपूर्ण रहेको बताउनुभयो । ‘हामी स्वस्थ रह्यौं भने चाडबाड अर्को वर्ष पनि मनाउन सकिन्छ, अहिले आफू यात्रा गर्दा कोरोनाले पनि यात्रा गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ’ मन्त्री ज्ञवालीले भन्नुभयो ।
चाडबाडको मुख्य विशेषता आफूभन्दा अग्रज, ज्येष्ठ नागरिक र अभिभावकबाट आशीर्वाद लिने भएको बताउँदै मन्त्री ज्ञवालीले अहिलेको चाडबाडमा सहरदेखि गाउँको यात्रा गर्दा अभिभावकहरु नै सबैभन्दा ठूलो जोखिममा पर्ने बताउनुभयो । ‘चाडबाडमा ज्येष्ठ नागरिकबाट आशीर्वाद लिने हो, तर यो पटक सबैभन्दा जोखिममा अभिभावकहरु नै हुनुहुन्छ, हाम्रा कारण उहाँहरु जोखिममा पर्नुभयो भने निकै नराम्रो हुन्छ । यस पटक सधैं जस्तो काठमाण्डौबाट गाउँ, गाउँबाट काठमाण्डौं नगरौं । आशिष फेरि पनि लिन सक्छौँ’ ज्ञवालीले भन्नुभयो ।
‘आशीर्वाद पछिसम्म पनि चाहिन्छ, त्यसैले यो वर्षको चाडबाडमा आशीर्वाद बचाऔँ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो ।