Aamsanchar

केसीका मागका सम्बन्धमा जारी वार्ता केही समयका लागि स्थगित ,साढे चार घण्टा लामो वार्ता सकारात्मक

Author Image
बिहिवार, असोज २२, २०७७

काठमाडौं : २५ दिनदेखि अनशनमा रहेका प्रा.डा. गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीचको वार्ता केही समयका लागि स्थगित भएको छ।  करिब साढे चार घण्टादेखि चलेको वार्ता दिउँसो ३ बजे केही समयका लागि स्थगित भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।  केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन सरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो।  बुधबार सरकारले गठन गरेको वार्ता टोली र डा.  केसीका प्रतिनिधिबीच पहिलो पटक साढे चार घण्टा वार्ता भएको हो। 

बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्। 

सरकारले वार्ता टोली गठन गरे लगत्तै केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो।डा. केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन्। 

वार्ता सकारात्मक 

साढे चार घण्टा लामो वार्ता सकारात्मक भएको छ। दुवै पक्षले चाँडोभन्दा चाँडो सहमति गरेर डा. केसीको अनशन तोडाउने गरी सहमति खोज्ने प्रयास गरेका छन्। ‘अहिलेलाई वार्ता सकारात्मक छ’, केसीका सहयोगी सुवेदीले भने, ‘आज साढे चार बजे पुनः बस्नेगरी अहिलेलाई वार्ता स्थगित भएको हो।’  सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव मैनाली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को का शिक्षामन्त्रीको भर्चुअल बैठकमा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि वार्ता स्थिगित भएको हो । 

भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।  स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर