Aamsanchar

दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

Author Image
सोमवार, असोज २६, २०७७

काठमाण्डौ – यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । विगतको दशैँमा जस्तो भीडभाड र चहलपहल नभएकाले यसपालि गाउँ फर्कने मानिसको संख्या निक्कै कम छ । यही अवस्था रहेमा अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नपर्ने महानिर्देशक हमालको भनाइ छ ।

उहाँले आवश्यक परिहालेमा घटस्थापनाको एक/दुई दिनपछि मात्रै खोल्ने बताउनुभयो । घटस्थापना आउन अब पाँच दिन मात्र बाँकी छ । गएको वर्ष यात्रुको चापका कारण अरु रुटमा चल्ने गाडीसमेत ल्याएर बढी चाप भएका रुटमा चलाउनुपर्ने बाध्यता थियो । तर यसपालि चलेका गाडीलाई नै यात्रु नपुगेको उहाँले बताउनुभयो । पहिला दशैँमा घर जाने विद्यार्थी धेरै हुन्थे । तर अहिले स्कुल, कलेज, विश्वविद्यालयमा खासै पठनपाठन नभएको र विद्यार्थीहरु अगाडि नै घरगाउँ गइसकेका छन् । एउटा रुटमा चल्ने १० वटा गाडीमध्ये २ वटा गाडीलाई नै यात्रु नपुगेको अवस्था रहेको उहाँले बताउनुभयो ।

यातायात व्यवसायीले पनि यात्रु नपाएको बताउँदै आएका छन् । गएको वर्ष दशैँका बेला २० लाखभन्दा बढी यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिन्थे । अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले सामान्य तरिकाले चलेका गाडीले पनि पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ । गएको वर्ष असोजको १८ गतेदेखि दशैँ सुरु भएको थियो । दशैँका लागि उपत्यका छाड्नेहरुका लागि यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । यो वर्ष कात्तिक ७ गतेदेखि दशैँ सुरु हुने भएकाले योभन्दा अगाडि नै अग्रिम टिकट बुकिङ खुला हुनुपर्ने भए पनि खुल्न सकेको छैन । गएको शुक्रबार यातायात व्यवस्था विभाग यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी र पालिकाका प्रतिनिधि बसेर छलफल गरे पनि टिकट बुकिङ खुलाउनुपर्ने पक्षमा कोही नरहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर