Aamsanchar

कोरोनाको चपेटामा प्रदेश १ का अधिकांश कार्यालय

Author Image
मङ्गलवार, असोज २७, २०७७

विराटनगर — कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरसहित प्रदेश १ का अधिकांश जिल्लाका सरकारी, गैरसरकारी कार्यालय र वित्तीय संस्था धमाधम बन्द हुन थालेका छन् । दुई अधिकृतसहित १० कर्मचारीमा संक्रमण भएपछि विराटनगरको मालपोत कार्यालय साता दिनदेखि बन्द छ । मालपोत बन्द भएसँगै नापी र भूमिसुधार कार्यालयको सेवासमेत ठप्प छ । कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको मालपोत अधिकृत राम कार्कीले बताए ।

विराटनगर–४ का अध्यक्ष देवेन्द्र पोखरेल र वडा सदस्य बल्लक चौधरीलाई पनि संक्रमण देखिएपछि ५ दिनदेखि वडा कार्यालय बन्द रहेको वडा सदस्य सुशीला सापकोटाले बताइन् । उनका अनुसार वडाका अधिकांश जनप्रतिनिधिसमेत संक्रमित छन् । त्यसैगरी वडा–७ का अध्यक्ष पनि संक्रमित भएपछि उक्त वडा कार्यालय पनि साता दिनदेखि अनिश्चितकालका लागि बन्द छ । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएपछि असोज २२ देखि २८ सम्मका लागि कार्यालय बन्द गरिएको छ । विराटनगरको यातायात व्यवस्था कार्यालयको सेवा पनि केही दिन प्रभावित भएको छ । कर्मचारीमा संक्रमण भएपछि केही दिन कार्यालय बन्द गरेर अन्य कर्मचारी काममा फर्किएका छन् । कर्मचारीमा कोरोना पुष्टि भएपछि नेपाल बंगलादेश बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक पनि केही दिन बन्द रहेर अहिले खुलेका छन् ।

कोरोना संक्रमणका कारण मोरङमा मात्र नभई प्रदेश १ का अधिकांश कार्यालयको सेवा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । उनका अनुसार कर्मचारीमा कोरोना देखिएपछि अझै केही कार्यालय बन्द छन् । केहीले भने पुनस् सेवा प्रवाह सुरु गरेका छन् । कर्मचारी नै संक्रमित भएपछि उनीहरू निको नभएसम्म संक्रमण अरूमा फैलिन नदिन कार्यालय बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । दमक नगरपालिकाका प्रमुखमा पनि संक्रमण पुष्टि भएपछि कार्यालय अहिले बन्द छ । कर्मचारी संक्रमित भएपछि दमक–२, अर्जुनधारा नगरपालिका–६, मालपोत कार्यालय चन्द्रगढीको मुद्दा फाँट, राष्ट्रिय वाणिज्य बैंक चन्द्रगढी शाखा, भद्रपुर नगरपालिका र त्यसका सबै वडा कार्यालय पनि बन्द छन् ।

इलाका प्रशासन कार्यालय खोटाङ बजारका प्रमुखलाई संक्रमण पुष्टि भएपछि उक्त कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । संक्रमणकै कारण सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालय र इटहरीस्थित हुलाकी सडक योजना कार्यालय एक साता बन्द भएर खुलेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालय तथा धरान उपमहानगरपालिकाको घरनक्सा शाखा, सूचना शाखा र आर्थिक विकास महाशाखासमेत अनिश्चितकालका लागि बन्द भएका छन् । इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयमा अत्यावश्यकबाहेकका सेवा असोज २४ सम्मका लागि बन्द गरिएको थियो । उदयपुरको बेलका नगरपालिकाका प्रमुखसहित पाँच जनामा कोरोना पुष्टि भएपछि नगरपालिका, विषयगत कार्यालयसहित वडा–१, २, ३ र ९ बन्द छन् ।

नेपाल टेलिकमको धनकुटा कार्यालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि असोज १८ देखि उक्त कार्यालयसमेत सिल गरिएको छ । त्यसैगरी, नजिकको गोकुण्डेश्वर माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय सिल गरिएको छ ।                                                                                                                                                                                      – कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर