Aamsanchar

मुख्यमन्त्री राईद्वारा भोजपुर र उदयपुर जोड्ने दुधकोशी नदीमाथि पक्की पुलको शिलान्यास

Author Image
मङ्गलवार, असोज २७, २०७७

भोजपुर – भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेबल पक्की पुल शिलान्यास भएको छ। प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पुल शिलान्यास गरेका हुन्‌। ​प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरिएको हो। सो स्थानमा पुल निर्माणको लागि यसअघि तीन पटक बोलपत्र खुलाएको भएपनि कुनै पनि निर्माण व्यवसायीले बोलपत्र नहालेपछि पुल निर्माणमा केही ढिलाई भएको मुख्यमन्त्री राईले जानकारी दिए। मुख्यमन्त्री राईले भने, ‘यो मेरो प्राथमिकतामा परेको पुल हो, यसअघि आह्वान गरिएका तीन ओटा बोलपत्रमा कसैले पनि काम गर्ने इच्छा नगरेपछि काममा ढिलाई भयो, नत्र यो पुल यो समय सम्म निर्माण भईसकेको हुन्थ्यो।’

यो पुल प्रदेश सरकारको सबै भन्दा ठुलो लगानीमा निर्माण हुन लागेको समेत मुख्यमन्त्री राईले जानकारी दिए। निर्माण अवधि २४ महिना रहेपनि सो अवधिभन्दा पहिले नै निर्माण सक्न उनले निर्माण व्यवसायीसँग आग्रह गरेका छन्‌। ‘यसको निर्माण अवधी २४ महिना छ, तर मैले निर्माण व्यवसायीलाई एक वर्षभित्र सक्न भनेको छु, मैले भनेको समयमा गुणस्तरीय काम गरी पुल निर्माण सम्पन्‍न गरेमा यही स्थानमा कार्यक्रम गरेर उहाँलाई प्रदेश सरकारको तर्फबाट पुरस्कृत गर्ने घोषणा गर्न चाहन्छु,’ मुख्यमन्त्री राईले भने। कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुदन किराँतीले पुल निर्माणले भोजपुरबासीको समृद्धिमा धेरै ठुलो टेवा पुग्ने बताए। उनले भने, ‘यो पुलले दक्षिणी भेगसँगै भोजपुरबासीको मुहार फर्कने छ, लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका जनतालाई प्रत्यक्ष लाभ पुग्ने छ, यो हाम्रा लागि हर्षको दिन हो।’

पुलले भोजपुरको हतुवागढी(९ हसपुरको चुहार र उदयपुरको बेलका नगरपालिका(७ मैनामैलीलाई जोड्नेछ। यो पुल भोजपुरलाई दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले यसले जिल्लाको आर्थिक रुपमा विकास पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। कालिका प्यासिफिक जेभीले निर्माण गर्न लागेको पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहने प्रदेश(१ भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक रेवतीरमन पराजुलीले जानकारी दिए। भोजपुर सदरमुकामबाट दुधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलोमिट रहेको छ। तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले यसले जिल्लाको आर्थिक रुपमा विकास टेवा पुग्ने जानकारहरुको भनाई छ। पूर्वी क्षेत्रबाट धरानसम्मको पुग्न भोजपुरबासीले १५४ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर